नवलपुर (गैडाकोट),माघ १ । गैँडाकोट १४ मा रहेको जेनिथ युथ क्लबले कभर्डहल निर्माण गर्ने योजना अघि सारेको छ । क्लवका पूर्व अध्यक्ष रामबाबु सापकोटाका अनुसार अहिले ब्याडमिन्टन कोर्ट निर्माण भएकै ठाउँमा कभर्डहलनै निर्माणका लागि धनप्रसाद सापकोटाको अध्यक्षतामा ९ सदस्यीय निर्माण समित समेत गठन गरिएको छ ।
कुल ४२० बर्गमिटर क्षेत्रफल रहेको उक्त ठाउँमा ब्याडमिन्टन कोर्ट र टेबल टेनिस बोर्ड निर्माण सम्पन्न भइसकेको छ । निर्माण सम्पन्न पश्चात एक कार्यक्रमकावीच ब्याडमिन्टन कोर्टको नगर उप–प्रमुख विष्णु कुमारी कडेँलले र वडाअध्यक्ष कोकीसरा रानामगरले टी.टी.बोर्डको उद्घाटन गर्नुभएको हो ।
कुल ५ लाख ७४ हजार ९६० रुपैयाँको लागतमा कोर्ट र बोर्ड निर्माण गरिएको पूर्व अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।कुल लागत रकममध्ये २ लाख २२ हजार ९११ रुपैयाँ नगरपालिकाले सहयोग गरेको हो भने वाँकी स्थानीयले श्रमदान तथा सहयोग संकलन गरेर निर्माणकार्य सम्पन्न भएको उहाँको भनाई छ ।
कभर्डहल निर्माणपछि थप व्यवस्थित हुने र यसबाट खेलाडी उत्पादनमा सहयोग मिल्नुका साथै बाल बालिका , युवा तथा वयस्क सबैलाई खेल खेल्ने अवसर समेत प्राप्त हुने विश्वास क्लवले लिएको छ ।
स्वास्थ्य तथा खेल संस्कारको बिकास गर्दै जाने गरी योजना अघि बढाएको र स्थानीय सरकार, जिल्ला खेलकूद परिषद तथा खेल प्रेमी मार्फत आर्थिक संकलन गरेर कभर्डहल निर्माणलाई पूर्णता दिने योजना रहेको सापकोटाको भनाई छ ।