चितवन,पुस २७ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगका बाँकी खेलहरु दर्शक बिनै हुने भएको छ । कोरोना जोखिमका कारण चितवन जिल्ला फुटबल संघले लिगका बाँकी खेलहरु दर्शक बिनै गर्न लागेको हो ।
आज ९मंगलबार० देखि नै दर्शक बिनै खेल खेलाईएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । “कोभिड संक्रमणको जोखिम बढेकोले हामीले दर्शक बिना नै खेल खेलाउने निर्णय गरेका हौं, उनले भने, रंगशाला भित्र खेलाडी र अफिसियल बाहेक अन्यलाई प्रवेश निषेध गरेका छौं ।” कोरोनाका कारण यस्तो वाध्यात्मक अवस्था आएको उनको भनाइ छ ।
रंगशाला भित्र प्रवेश गर्ने खेलाडी तथा अफिसियललाई पनि मास्क अनिवार्य गरिएको छ । उनले बिषम परिस्थितिका कारण दर्शकलाई प्रवेशमा रोक लगाउनु परेकोले यो निर्णयलाई सहज रुपमा लिन आग्रह पनि गरेका छन् । “दर्शक १२ औं खेलाडी हुन् । दर्शकको उपस्थितिले खेलाडीलाई थप हौसला मिल्छ, उनले भने, तर हामी वाध्य छौं । यसबाट खेलाडी तथा दर्शकमा पुग्न जाने असरप्रति एन्फा चितवन क्षमाप्राथि छ ।”
जिल्ला लिगमा अहिले तेस्रो चरणका खेलहरु हुँदैछ । बुधवार तेस्रो चरणका अन्तिम खेलहरु हुनेछन् । कुल ३९ खेल हुने लिगका १६ खेल सम्पन्न भइसकेका छन् । लिग माघ ८ गतेसम्म हुने तालिका छ ।