चितवन – रामपुर फुटबल क्लब रड्सले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित निकालेको छ । आज (मंगलबार) भएको दोस्रो खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाउदै रामपुरले हर्दी युवा समाजविरुद्ध कमब्याक जित निकालेको हो । निकै रोमाञ्चक खेलमा रामपुरले हर्दीलाई ३-२ ले हरायो । रामपुरको जितमा बिनोद गुरुङ, बिशाल तामाङ र मनिष गिरीले गोल गरे । हर्दीका रोजन सेढाई र सुनिल लामाले गोल गरे । खेलको पहिलो हाफमा रामपुर दुई गोलले पछि परेको थियो । तर दोस्रो हाफमा रामपुरले कमब्याक गर्यो । खेलको चौथो मिनेटमा नै हर्दीले अग्रता लिएको थियो । रोजन सेढाईले सुन्दर हेडर गोल गर्दै हर्दीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमै हर्दीले अग्रता दोब्बर बनायो । २६ औं मिनेटमा सुनिल लामाले डि बक्स बाहिरबाट गोल गर्दै हर्दीलाई दोहोरो अग्रता दिलाएका थिए । पहिलो हाफमा २-० ले पछि परेको रामपुर दोस्रो हाफमा खेलमा फर्कियो ।
५६ औं बिनोद गुरुङले गोल गर्दै रामपुरलाई खेलमा फर्काउने संकेत गरेका थिए । ६२ औं मिनेटमा बिशाल तामाङले हेडर गोल गर्दै बराबरी गरे । खेलमा थप गरिएको अतिरिक्त ५ मिनेटको दोस्रो मिनेटमा मनिष गिरीले गोल गरे । डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै उनले रामपुरलाई कमब्याक जित दिलाए ।
गिरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । जितसँगै रामपुरले समूह ‘बी’ मा ३ खेलबाट ६ अंक बनाएको छ । रामपुर अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । दुई खेलबाट समान अंक बनाएको एभरेष्ट गोल आधारमा शिर्ष स्थानमा छ । आज पराजित हर्दी ३ खेलबाट ३ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा छ । लिगमा आजै भएको पहिलो खेलमा सौराहा युवा समाज र माडी ११ गोलरहित बराबरीमा रोकिएका छन् । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् ।
बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । यससँगै सौराहाले ३ खेलबाट ३ अंक बनाएको छ । माडीको ३ खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच सौराहाका डिफेन्डर प्रकाश चौधरी घोषित भए । लिगमा बुधवार तेस्रो चरणको अन्तिम दुई खेल हुँदैछ । बुधवारको पहिलो खेलमा बगान यात्रा ग्रुप र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन तथा दोस्रो खेलमा नारायणी एफसी र एस्ट्रल युथ सोसाइटी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ ।
लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ । दर्शक बिना नै खेल भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगका बाँकी खेलहरु दर्शक बिना नै खेलाइने भएको छ ।
आजबाट रंगशालाभित्र दर्शकलाई प्रवेश निषेध गरिएको हो । कोभिड संक्रमणलाई मध्यनजर गर्दै खेलाडी र अफिसियल बाहेक अन्यलाई प्रवेश निषेध गरिएको एन्फा चितवनका महासचिव रामहरी ढकालले बताए । खेलाडी र सम्पूर्ण अफिसियल पनि मास्क अनिवार्य गरिएको उनले बताए ।