नवलपुर, पुस २७ । नेकपा एमाले नवलपुरको भर्खरै सम्पन्न आठौँ अधिवेशनमा अध्यक्ष पदका अकांक्षी जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । हिजो मात्रै सम्पन्न अधिवेशनले मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरिएको थियो ।
सर्वसम्मतको नाउँमा अध्यक्ष मण्डल बनाएर जिल्ला कमिटी घोषणा गरिएको भोलिपल्टै श्रेष्ठले सामाजिक संजालमार्फत सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन् । यद्यपी उनले आफ्नो राजनीतिक यात्रा र योगदानको चर्चा गरेपनि अधिवेशन लक्षित केहीपनि टिप्पणी गरेका छैनन् ।
तर उनी निकटका नेताहरुले श्रेष्ठको चाहानालाई सम्वोधन नगर्दा निराशा स्वरुप यो घोषणा आएको बताएका छन् । श्रेष्ठ वर्तमान जिल्ला कमिटीका सचिव हुन् ।
आफ्नो अध्यक्षमा स्वतह दावेदार रहने बताउँदै आएका थिए । तर अन्तिम अवस्थामा पनि उनलाई अध्यक्ष मान्न कार्यवाहक अध्यक्ष रोशन गाहा मगर तयार नभएपछि दुवै जनाले मुक्तिराम पाण्डेलाई सहमति जनाएको एमाले स्रोतले बताएको थियो । तर श्रेष्ठले अधिवेशन सकिनासाथ सन्यासको घोषणा गर्दा असन्तुष्टीकावीच जिल्ला कमिटी चयन गरेको आकलन गर्न सकिन्छ ।
यद्यपी श्रेष्ठले आफ्नो फेसवुकमा सकृय राजनितिबाट सन्यास घोषणा लेखेर आफ्नो योगदान यसरी प्रस्तुत गरेका छन् ।
म जिवन श्रेष्ठ २०२९ साल देखि झापा बिद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (के/ के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाहा गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटिको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटिको सदस्य, २०६३मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाहा गर्दै आइरहेको र पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै “सम्बृद्ध नेपाल सुखि नेपालि“ को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।
मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिको शिक्षा–दिक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एकेबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैब सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।
जिवन श्रेष्ठ, कावासोति–३, नवलपुर, गण्डकि प्रदेश।