नवलपुर (कावासोती) । नवलपुरमा पृथ्वी जयन्ती मनाइएको छ । कावासोती २ को खुला मैदानमा बाजागाजा सहित पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरी ३००औँ पृथ्वी जयन्ती मनाइएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुर र शाही शक्ति नेपालको आयोजनामा मोटरसाइकल र्याली गरेर कोणसभामा परिणत गरी राष्ट्रिय एकता दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजतान्त्र पार्टीका केन्द्रीय सदस्य निलकण्ठ काफ्लेले पृथ्वी नारायण शाहको योगदानलाई अहिलेको सरकारले अपमान गरेको आरोप लगाए । पृथ्वी नारायण शाहकै कारण नेपाल र नेपाली भन्न पाएको तर उनको योगदानलाई मुख्य दलहरुले भूलेको भन्दै उनले भने,“आज नेपाली भनेर चिनारी गराउने राष्ट्रनायकप्रति यो राष्ट्रले गरेको अपमानप्रति खेद प्रकट गर्न चाहान्छु ।”
राष्ट्रनायक पृथ्वीनारायण शाहले देश एकीकरण गरकै कारण अहिले राजनीति गर्न पाएका अहमतावादी नेताहरुले उनको भूमिकाप्रति चासो नदिएको बताए । राष्ट्रिय एकताको सन्देश दिनेगरी यो दिवस मनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टी सरकारमा जाने अवसर पाए सार्वजनिक विदा सहित भव्यरुपमा पृथ्वी जयन्ती मनाउन तीन दिन सार्वजनिक विदा दिने समेत दावी गरे । सरकारमा नगएपनि यो दिवसलाई आगामी दिनमा राष्ट्रीय पर्वको रुपमा मनाउन उनको आह्वान थियो ।
जिल्ला अध्यक्ष विष्णु अधिकारीले अहिलेका मुख्य राजनीतिक दल र नेताहरुले विधि विधान बनाएर राज्य लुट्ने काम गरेको आरोप लगाए । वैधानिक ठगहरु हुर्किएको भन्दै बलिदान दिएकाहरु किनारमा परेको उनको भनाई थियो । उनले भने,“दारी पालेको कार्लमाक्सका फोटो टाँस्छन्, अरु साथीहरुले भारतका सामन्त गोयलको फोटोमा माला लगाउनुहोला । तपाइहरुलाई राष्ट्रप्रति कुनै चिन्ता छैन। मात्र राजनीतिक खोल ओडेर राष्ट्रदोहोन गर्न आएका सवैभन्दा ठूला राष्ट्रघाती एमाले र काँग्रेस बनेका छ ।”
अहिले भ्रष्टचारी नेताहरुलाई सुरक्षा दिने तर देशको एकता गर्ने राष्ट्रनायक पृथ्वी नारायण शाहलाई विर्सीएको उनको भनाई थियो। अवका दिन सवै युवाहरु मिलेर राष्ट्रिय पर्वको रुपमा मनाउन दवाव दिनुपर्ने बताए । आफूले ४० वर्षदेखि राजनीति गरेको र पञ्चायतकालदेखिको इतिहास हेर्दा तत्कालिन मण्डले वरु ठिक रहेको तर अहिलेका गणतन्त्रवादी भन्ने नेताहरु भ्रष्टचारी बनेको उनले आरोप लगाए । अहिलेका नेताहरुको योगदान मान्छे मारेर कति वर्ष जेल बसे भन्नेमात्रै रहेको भन्दै अवका नागरिक सचेत हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै शाही शक्ति नेपाल पश्चिमाञ्चल संयोजक राजेश मैनालीले राष्ट्रिय एकताको सन्देश दिनेगरी सार्वजनिक विदा दिएर यसको इतिहासवारे जानकारी दिनुपर्ने भएपनि सरकारले त्यसो नगरेको भन्दै घोर आपत्ति प्रकट गरे । अवका दिन प्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनलाई प्रस्ताव गरेर चुनावमा जानुपर्ने उनको भनाई थियो ।
सरकारमा जान पाए राष्ट्रिय एकताको सन्देश सहित सार्वजनिक विदा दिएर दिवस मनाउने पाउने आशा उनको रहेको थियो । कार्यक्रमको सहजीकरण गरेका शाही शक्ति नेपालका पश्चिमाञ्चल प्रवक्ता गणेश खनालले अझैपनि पुस्ता के थियो भन्नेमा देशको राजनीति अडिएको भन्दै त्यसलाई तोडेर देश र जनताको हितमा कुन पार्टी छ त्यो छनौट गर्न आग्रह गरेका थिए।