चितवन,पुस २६ । नेकपा एमाले चितवनको जारी १०औँ अधिवेशन अनिश्चित बनेकोछ । ओमिक्रोनको जोखिम बढेको भन्दै अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।
पुस २२ गते केपी शर्मा ओलीले एकसाथ सम्वोधन गरेर सुरु भएको एमाले चितवनको अधिवेशनले नयाँ नेतृत्व दिन ढिलाई गरिरहदा अधिवेशननै स्थगित भएको हो ।
जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ती अनुसार पुस २६ गतेसम्म स्थगित दशौँ अधिवेशन अर्को सुचना जारी नभएसम्मको पुनः स्थगित गरिएको जनाइएको छ ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी गृहमन्त्रालयलाई सिफारिस गरेअनुसार सोही नियमको पालना गर्न स्थगित गरिएको भनिएको छ ।
एमाले चितवन हाँक्नका लागि अध्यक्षमा रामप्रसाद न्यौपाने, तेजेन्द्र खड्का, कृष्णप्रसाद भुर्तेल र कमलप्रसाद पाठकले आफूलाई दावेदारका रुपमा अगाडि सारेका छन् ।
पुस २३, २४ गते भरतपुरको कृष्णपुर स्थित तारापुञ्ज रिर्सोटमा अधिवेशन भएपनि कुनैपनि पदमा सहभति ज्ुट्न नसकिरहेको हो । अव अर्को सूचना कहिले आउने हो थाहा नभएपनि त्यतिवेला सम्म आन्तरिक छलफलमा नेतृत्व टुंग्याउन पहल भइरहेको अध्यक्ष रावलले जानकारी दिनुभयो।



