चितवन। आजदेखि १३औँ संस्करणको चितवन महोत्सव सुरु हुँदैछ । पुस २५ गतेआजदेखि माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुहुनेछ । महोत्सवको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भनिएपनि उहाँलाई कोरोना संक्रमण भएपछि तालिका परिवर्तन भएको हो ।
महौत्व उद्घाटपूर्व अहिले विहान सवा ९ बजे नारायणगढबाट र्याली निकालिने महोत्सवका मूल संयोजक अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । र्याली पछि विहान साँढे ११ मुख्यमन्त्रीले महोत्सवको उद्घाटन गर्नुहुनेछ ।
नारायणी नदी किनारमा हुने महोत्सवमा ३५० वटा स्टल रहेका छन् । चितवनको आर्थिक,सामाजिक, सांस्कृति,परम्परा,कृषि,पर्यटन आदि क्षेत्रको विकास र प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो।
स्थानीय उत्पादनको बजारिकरणमा जोड दिँदै यसपटक महलाई जोड दिइएको छ । महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन गरिने छ।
विस २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिने भन्दै अध्यक्ष श्रेष्ठले महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिने बताउनुभयो । महोत्सवमा रहने सम्पूर्ण स्टरहरु बिक्री भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टै छुट्टै परिसर रहने श्रेष्ठले बताउनुभयो । महोत्सव परिसरमा २० वटा रेष्टुरेन्ट रहने भन्दै श्रेष्ठले सबैको बुकिङ पूरा भएको जानकारी दिनुभयो । विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सव भित्र राखिने श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहित रहेका छन् । महोत्सवमा चारवटा विशेष र डोमसहित रहेका ३५० वटा स्टल सबै स्टलको बीमा गरिनेछ । महोत्सव अवलोकन गर्न सर्वसाधारणले रु ५० र विद्यार्थीले रु २५ को टिकट काट्नुपर्नेछ । ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।
महोत्सव अवधिभर विभिन्न छ वटा विधामा गोष्ठी तथा अन्तरक्रिया हुने चितवन महोत्सवका गोष्ठी संयोजक राजेन्द्र ओलीले जानकारी दिनुभयो । चितवन महोत्सवको अवसरमा पुस २७ गते कृषि सम्बन्धी, पुस २८ गते उर्जा सम्बन्धी, पुस २९ गते पोल्ट्री सम्बन्धी, ३० गते पर्यटन सम्बन्धी, माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र माघ ३ गते महिला उद्यमी सम्बन्धी गोष्ठी हुने ओलीले बताउनुभयो ।
गोष्ठी संयोजक ओलीकाअनुसार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहान ११ बजेदेखि गोष्ठी सुरु हुनेछ । गोष्ठीका क्रममा विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल र अन्तरक्रिया हुनेछ ।
महोत्सवको प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति रहेका छन् । यसअघि २०७५ सालमा १२ औं संस्करणको महोत्सव भएको थियो ।