नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एक निजी विद्यालयका संचालकनै हत्याको मुख्य योजनाकार रहेको खुलाएको छ ।
गत असोज महिनामा भएको एक व्यापारीको हत्या ती निजी स्कुलका सञ्चालकको मुख्य योजनाबाट भएको भन्दै घटनामा संलग्न ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
योजनाकार फरार रहेपनि घटनामा संलग्न अन्य ३ जनालाई भने प्रहरीले ६ महिनापछि पक्राउ गर्न सफल भएको सूचना अधिकारी डिएसपी प्रेम वहादुर शाहीले जानकारी दिएका छन् । शव भने अहिलेसम्म बरामद हुन सकेको छैन ।
प्रहरीका अनुसार गत असोज ६ गते पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–३ पिडरहनीका ४० वर्षिय गोविन्द धोवीको हत्या भयो । पक्राउ परेका अभियुक्तको बयानका आधारमा प्रहरीले मुख्य योजनाकार बर्दघाट नगरपालिकाको मझौनीस्थित न्यू ड्रिम एकेडेमी स्कुलका सञ्चालक मुन्ना कहाँर रहेको पत्ता लगायो तर उनी फरार छन् । मृतक गोविन्दका छोरा सोही स्कुलमा अध्ययनरत थिए ।
सामान्य व्यवसाय गर्ने गोविन्दसँग रकम भएकोले अपहरण गरी फिरौती रकम असुल गर्ने मुन्नाको योजनामा हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
हत्याको घटनामा संलग्न भई पक्राउ पर्नेमा रामग्राम नगरपालिका–२ दुर्गा टोलका २६ वर्षिय सुदिपकुमार केवट, सुस्ता गाउँपालिका– १ वनदेवीका ३५ वर्षिय वीरबहादुर राजभर र बर्दघाट नगरपालिका मझौनीका सुरेन्द्र कहाँर छन् । सुरेन्द्र र मुन्ना कहाँर बाबु छोरा हुन् ।
हत्याको योजनासहित मुन्नाले बोलाएपछि भारतीय नम्बर प्लेटको आफ्नै गाडी चढेर गोविन्द एक नास्ता पसलमा पुगेका थिए । उक्त नास्ता पसल हत्यामा संलग्न वीरबहादुरको हो ।
त्यहाँ बोलाएर अर्धवहोस हुनेगरी मादक पदार्थ सेवन गराइएको र मातेका सबै गाडीमा चढेर हिडेको अनुसन्धानबाट पत्ता लागेको छ । बाटोमा गोविन्दलाई गाडीभित्री घाँटीमा गम्छाले बाँधेर हत्या गरेको र शवलाई नारायणी नदीको ठोकर नं. ६ मा लगेर फालेको बयानमा खुलेको डिएसपी शाहीले बताए ।
प्रमाण नष्ट गर्ने योजना सहित हत्या गरिएका व्यक्तिको युपी ५७ एएफ १३२७ नम्वरको गाडी अभियुक्तहरुले मोटरसाइकलको पेट्रोल छर्किएर सुनवल नगरपालिकाको फरौलीस्थित कच्ची सडकमा जलाएर छाडेका थिए । अभियुक्तहरुले डेढ करोड रुपैयाँ फिरौती रकम माग्ने सोँचका साथ उनलाई अपहरण गरेको र पछि पहिचान खुल्ने डरले हत्या गरेको साविती बयान दिएको प्रहरीले जनाएको छ ।
गोताखोरको प्रयोगबाट शबको खोजीकार्य भएपनि हालसम्म नभेटिएको प्रहरीको भनाई छ ।



