डोलराज रानाभाट
नवलपुर । नवलपुर जिल्लाका चार स्थानीय तहमा ३ हजार ९०३ जना मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरले संचालन गरेको मतदाता नामावली दर्ता अभियान २०७८ विशेष कार्यक्रम संचालनपछि ती मतदाता थपिएको निर्वाचन अधिकारी लालप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार थपिनेमा हुप्सेकोट गाउँपालिकामा १ हजार १४० जना, विनयी त्रिवेणीमा १ हजार ६६२, बुलिङ्टार गाउँपालिकामा ४४२ जना र वौदिकालि गाउँपालिकामा ६५९ जना मतदाता नयाँ थपिएका हुन् । ती पालिकामा मंसिर १७ देखि पुष २ गतेसम्म स्थानीय केन्द्रनै खडा गरी नामावली दर्ता अभियान संचालन भएको थियो ।
त्यस्तै वाँकी चार स्थानीय तहमा मतदाता नामावली दर्ता अभियानको कार्यक्रम जारी छ । गैँडाकोट नगरपालिका,देवचुली र मध्यविन्दुमा पुष ५ गतेदेखि सुरु भएको कार्यक्रम पुष १९ गतेसम्म संचालन हुनेछ ।
पुष ११ सम्म गैँडाकोटमा १ हजार ८१,देवचुलीमा ७६४ र मध्यविन्दुमा १ हजार १६४ जना गरी कुल ३ हजार ९ जना नयाँ मतदाता थपिएका छन् ।
यो अवधिमा अर्थात मंसिर महिनामात्रै जिल्ला निर्वाचन कार्यालयमा गएर १ हजार ३३६ जना मतदाताले आफ्नो नाम दर्ता गराएका छन् भने जिल्ला प्रशासन कार्यालयमा १ हजार ३६७ जनाले नाम दर्ता गराएका छन् । यसरी कार्यालय र प्रशासनको केन्द्रमा मात्रै मंसिर महिनामा २ हजार ७०३ जना नयाँ मतदाता थपिएका छन ।
चालु आर्थिक वर्षको साउन देखि मंसिर महिनासम्म जिल्लामा कुल ६ हजार ८०१ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारीले शर्माले जानकारीदिए ।
त्यस्तै मंसिर महिनामा मात्रै ५१ जनाले विवरण सच्याएका छन भने ३०७ जनाले ठाउँ सारेका छन् । यसरी ३५८ जनाले अद्यावधिक तर्फको सेवा लिएका छन् ।
नवलपुर जिल्लाभर २०७७ पुष ५ गतेसम्मको अन्तिम तथ्याङ्क अनुसार २ लाख ३७ हजार १५६ जना मतदाता थिए । जसमा १ लाख १२ हजार १४७ पुरुष, १ लाख २५ हजार ५ महिला र ४ जना तेस्रो लिङ्गी मतदाता जिल्लामा रहेका थिए ।



