चितवन । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेका छन् । अर्का मृतकको भने सनाखत भइ नसकेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीका अनुसार कारमा सवार ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।
बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो ।
गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ ।