गैँडाकोट । गैँडाकोट नगरपालिका ७ मा रहेको नारायणी माध्यमिक विद्यालयले आफ्नो ४३औं वार्षिकोत्सव समारोह एवम् अभिभावक दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सामुदायिक विद्यालयको स्तर बढाउन नगरले निरन्तर सहयोग गरिरहेको बताए ।
कार्यक्रममा नगर उप प्रमुख विष्णुकुमारी कँडेल सापकोटा,शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाईँले विद्यालयको प्रगतिमा सबैको प्रतिवद्धताले काम गर्ने भएकाले विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यालयको समग्र आर्थिक एवम् भौतिक पक्षको प्रतिवेदन पेश गर्दै पूर्वप्राथमिक देखि कक्षा १० सम्म ३७७ बालबालिका अध्ययनरत रहेको जानकारी दिए । विद्यालयले सूचना प्रविधिमा जोड दिएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष एवम् जनक नमुना माविका प्रधानाध्यापक चूडामणि शर्मा कँडेलले नारायणी माविको दिन प्रतिदिनको प्रगतिको खुलेर तारिफ गरे ।
कार्यक्रममा पूर्व प्रधानाध्यापकद्वय कृष्ण सापकोटा, होमनाथ सापकोटाले शुभकामना दिएका थिए ।
विद्यालयक इको क्लवका अध्यक्ष अनुष्का पौडेल, वडा सदस्य ईश्वरीप्रसाद चापागाई लगायतले शुभकामना मन्तव्य राखे । विद्यालयका सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रममा वार्षिकोत्सव विशेष अन्तर्गत सञ्चालित खेलकूदमा पुरस्क्रित विद्यार्थीहरुलाई पुरस्कार र विद्यालयमा योगदान पु¥याउने शिक्षक कर्मचारी र अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा लामो समय अध्यक्ष भएर कार्य गरेका गंगाबहादुर पाण्डे, पूर्व प्रधानाध्यापक नारायण पौडेल र निवृत्त शिक्षकहरु अग्निप्रसाद सापकोटा, खुमबहादुर थापा, हरिकला सिग्देल, शारदा शर्मालाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयले यस वर्ष शिक्षकहरुतर्फ उत्कृष्ट शिक्षक सम्मान शिक्षक गोविन्द रिमाललाई प्रदान गरेको थियो ।
२०३६ साल पौष १० गते स्थापना भएको सो विद्यालयमा दरै, कुमाल लगायतका आदिवासी जनसमुदायका बालबालिकाहरुको बाहुल्यता रहेको छ । कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो ।