नवलपुर । आजदेखि पूर्वी नवलपरासीको कावासोतीमा प्रथम नवलपुर खाना महोत्वस सुरु हुँदैछ । कोभिड महामारीको करिव २ वर्षको चपेटामा परेका व्यवसायीहरुको सक्रियतामा महोत्सव हुन लागेको हो ।
प्रथम बृहत खाना,पर्यटन,सांस्कृतिक तथा व्यापारिक महोत्सव २०७८ नाम दिएर सुरु हुन लागेको महोत्सवको तयारी पूरा भएको आयोजक संस्था नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले जानकारी दिए। रानाका अनुसार नवलपुरको समृद्धिको आधार यहाँको संस्कृति र पर्यटन भएको बताए । नवलपुर समृद्धिको मुख्य आधार,संस्कृति संरक्षण तथा पर्यटन विकासमा पूर्वाधार नारा दिएर पहिलो पटक महोत्सव गर्न लागिएको हो ।
आजदेखि पुस १७ गतेसम्म चल्ने महोत्सव प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्ने भनिएपनि अन्ततः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउसो १२ बजे उद्घाटन गर्ने तालिका रहेको व्यवस्थापक सुदर्शन खनालले जानकारी दिए । खाना र पर्यटनलाई मुख्य केन्द्रमा राखेर सुरु हुने महोत्सव उद्घाटन पूर्व विहान १० बजेदेखि थकाली चोकबाट महोत्सव स्थलसम्म कलश यात्रा समेत निकालिने छ ।
महोत्सवमा १ सय ५० वटा स्टल रहने छ । त्यहाँ थारु, मगर, नेवार, थकाली लगायतका विभिन्न जनजातिको परम्परागत संस्कृति झल्कने घरहरुको साथै खानाका परिकारहरु पाइनेछन् ।
त्यस्तै जंगल सफारी, घोडा सफारी, नारायणी नदीमा डुंगा सयर, प्याराग्लाइीङ मुख्य आकर्षकको केन्द्र रहेका छन् भने नवलपुरकै अग्लो डाँडा देवचुली र बरचुलीको संकेतिक स्तुपका साथै व्यापारिक स्टलहरु पनि रहेन रानाले बताए ।
महोत्सवमा दैनिक राष्ट्रियकलाकारहरुको समेत प्रस्तुती रहनेछ । महोत्सव कावासोती फलफूल चोक दुवोर्ग ग्राउण्डमा हुनेछ ।