चितवन, पुष ५ । हिमानी कोषले नवलपुरको गैँडाकोटका अपाङ्गता भएका तथा गरिव विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने भएको छ। कोषको नवलपुर शाखाले आज गैँडाकोटको होटल मुनस्टारमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
पूर्व युवराज्ञी एवम् कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी शाहको उपस्थितीमा यही पौष ७ गते मध्यान्न १२ बजेदेखि विद्यार्थीहरुलाई न्यानो कपडा,विद्यालय झोला र पानी शुद्ध गराउने फिल्टर वितरण गरिने कार्यक्रमका संयोजक सरोज कडेँलले जानकारी दिए।
उनका अनुसार गैँडाकोट नगरपालिकाका ८ वटा विद्यालयबाट छनौट भएका ३७० जना विद्यार्थीहरुलाई गैँडाकोट १ मा रहेको आदर्श शमसेर माध्यामिक विद्यालयमा दिउसो १२ बजेदेखि हिमानीको उपस्थितीमा ती सामाग्री वितरण गरिने छ । उनले भने,“कोषको उद्देश्यनै शिक्षा र स्वास्थ्यमा सवल गराउनु रहेको छ । त्यसैले विद्यालयका प्रधानाध्यापकसँग सहकार्य गरेर हामीले अपाङ्गता भएका तथा गरिव विपन्न विद्यार्थीहरु छनौट गरेका हौँ ।”
छनौट भएकामध्ये २७ जना अपाङ्गता भएका विद्यार्थीहरु छन् । कडेँलका अनुसार छनौट भएका विद्यालयहरुमा पन्चकन्या आधारभुत विद्यालय गैडाकोट ३ का २० जना, नवदुर्गा आधारभूत विद्यालय गैडाकोट १ धारापानीबाट ७० जना, कार्यक्रम हुने नेपाल राष्ट्रिय शमशेर आधारभुत विद्यालय गैँडाकोट १ बाट १२ जना सुस्तमनस्थिती भएका विद्यार्थी सहित ५७ जना जना, महेन्द्र स्मारक आधारभुत विद्यालय गैडाकोट २ बाट ४५ जना, मौलादेवी आधारभुत विद्यालय गैँडाकोट ३ हर्दीबाट ५० जना, भाग्यदोय आधारभुत विद्यालय गैडाकोट ६ बाट २५ जना, नारायणी मावि गैडाकोट ७ बाट ८२ जना र अपांग जीवन विकास संस्था गैँडाकोट १ धारापानीबाट १५ जना विद्यार्थीलाई छनौट गरिएको छ । हर्दी,केलादीबाट पढ्न आउने तथा दराई,माझी वस्तीका विद्यार्थीहरुलाई बढी प्राथमिकतामा राखेको आयोजकले जानकारी दिएको छ ।
साथै सोही दिन कोटाबाट स्थानीयहरु आउने र एम्बुलेन्स खरिद सम्वन्धी छलफल हुने आयोजकले जनाएको छ भने सप्तऋषि भारद्धाजको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । हिमानी कोषले कहिल्यै पनि नगदमा नभई जिन्सीमा सहयोग गर्दै आइरहेको छ।
२०६७ सालमा स्थापना भएको कोषले ७७ जिल्लामा भोलेन्टीएर बनाएर शाखा विस्तार गर्ने लक्ष्य लिएपनि हालसम्म करिव ५ वटा जिल्लामा मात्रै विस्तार भएको छ । नवलपुरमा मात्रै ४० जना भोलेन्टीएर सक्रिय रहेका छन् ।
कोषका लागि रोयल परिवारबाट सहयोग आउनुका साथै अमेरिका अष्ट्रेलियामा पनि शाखा विस्तार भइसकेको र त्यहाँबाट समेत सहयोग आउने कडेँलको भनाई थियो ।
२०६७ सालमा स्थापना भएको कोषले नवलपुरमा गत वर्षमात्रै शाखा विस्तार गरेको हो । गत वर्षपनि जिल्लाका विभिन्न १० वटा विद्यालयमा सहयोग गरेको कडेँलको भनाई थियो । गैरनाफामूलक र गैरराजनीतिक संस्था भएकाले विशुद्ध समाजसेवमा केन्द्रीत भएर उक्त कार्यक्रम गरिने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा कोषका नवलपुर जिल्ला उप–संयोजक केश वहादुर गुरुङ, कुमार वाग्ले, सन्तोष अधिकारी ,राम प्रसाद गैरे,मोहनविक्रम शाह, जीवलाल पुरी,सप्तऋषि भारद्धाज आश्रमका काशिनाथ कडेँल लगायतको सहभागीता रहेको थियो ।