चितवन । आज योमरी पूर्णिमा र उधौली पर्व । सरकारले आज सार्वजनिक बिदा समेत प्रदान गरेको छ । चाडपर्व मनाउने समुदायलाई र काठमाण्डौमा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ । आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।
किराँत समुदायको उधौली पर्व पनि आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ ।