डोलराज रानाभाट
चितवन, पुष ३ । चितवनको भरतपुर महानगरपालिकामा घुम्न पर्यटकहरुलाइ चुलै निम्तो दिएर ३० वटा उत्कृष्ट पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरिएकोछ । तेस्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहासँगै महानगरले पनि आफ्नो क्षेत्रभित्र रहेका आकर्षक पर्यटकीय गन्तव्यहरु सार्वजनिक गर्दै पर्यटकहरुलाई घुम्न आउन आह्वान गरेको छ ।
पर्यटक बढाउन पोखरा महानगरपालिका र लुम्बिनी सांस्कृति नगरपालिका रुपन्देहीको प्रत्यक्ष भगीनी सम्वन्ध तथा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको समेत सक्रियतामा ती गन्तव्यहरु सार्वजनिक गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
लुम्बिनी र पोखरामा आउने पर्यटकलाई चितवनमा ल्याउने र चितवनमा आएका पर्यटकहरुलाई ती ठाउँमा घुम्न पठाउनेगरी स्वर्ण त्रिकोण कार्यक्रम सुरु गरेको उनको भनाई थियो । आज नारायणी नदी किनारमा भएको कार्यक्रममा मेयर दाहाल सहित अतिथिहरुले भरतपुर महागनरपालिकाको ६ रात सात दिनको टूर प्याकेज सार्वजनिक गरेका थिए । एक दिनमा घुम्न सकिने गन्तव्यमा आज सवै अथितिहरु पुगेर प्रचारप्रसार गरेका थिए ।
६ रात सात दिनका लागि ३० वटा गन्तव्य सार्वजनिक गरिएको र ती मध्ये एक दिनमा नारायणी नदी किनार, ज्ञानेश्वर सामुदायिक वन,गौतम बुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला, पटिहानी, बाटुली पोखरी,देवघाटधाम,गाँजीपुर र मेघौली घुम्न सकिने महानगरका पर्यटन विज्ञ डा विश्वराज सुवेदीले जानकारीदिए ।
महानगले पोखरा र लुम्वीनीसँग भगीनी सम्झौता गरेर एक अर्काको ठाउँमा भित्रिएका पर्यटकलाई तीनै ठाउँमा घुम्न प्रेरित गर्नेगरी कार्यक्रम अघिबढाइएको महानगरप्रमुख रेनु दाहालले बताइन् । महानगरका पर्यटनविद डा.विश्वराज सुवेदीले महानगरभित्रका ३० वटा प्रमुख पर्यटकीय आकर्षण रहेका ठाउँहरुलाई अहिलेको टुर प्याकेजमा राखेको बताए । उनका अनुसार पोखरा, भैरहवामा विमानस्थल निर्माण भएको,नारायणगढ वुटवल सडक खण्ड फराकिलो बनाइएको भन्दै यसले तीन वटा ठाउँलाई जोड्न अझ सहज हुने छ । एकले अर्काको प्रचारप्रसार तथा प्रवद्र्धन गरेर पर्यटक भित्राउन यो कार्यक्रमले सहयोग पुग्ने बताए ।
भिजिट नेपाल २०२० कार्यक्रमदेखिनै अगाडि बढेको सम्वन्धले थप कार्यक्रम गर्न मद्दत मिलेको महागनरले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती,जीप सफारी सहित महागनरपालिका भित्रै रहेका मेघौली र त्यहाँबाट सूर्यास्त,पटिहानीको अम्रेला स्ट्रीट, देवघाटधाम, बीसहजारी ताल,ज्ञानेश्वर ब्लक, नारायणी रिभर बीच, चौकीडाँडा, जगतपुर,राइनो कुञ्ज,बाटुली पोखरी,कसरा, गोलाघाट,बागेश्वरी,गणेशधाम,वी.पी.शान्ति नगर वन,गाँजीपुर, सिमरी टाउन,महाबौद्ध गुम्बा, राइनो ताल,धनगढा मन्दिर, चितवन प्रदर्शनी मन्दिर, बखान बहुउद्देश्यी सहकारी,रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादक सहकारी, संयुक्त राप्ती दुन सामुदायिक वन, देवीस्थान पार्क, कविलासगढी, दियालो बंगाला, मदन आश्रित स्मृति पार्क र शिवालय नगर पार्क घुम्न सकिने र यी ठाउँको विशेषता र दूरी समेत राखेर प्याकेज सार्वजनिक गरिएको हो ।
यी सवै ठाउँ घुम्दै थारुहरुको संस्कृति, नाच,रहनसहन आदिको अध्ययन अवलोकन साथै एकसिँङ्गे गैँडा, हात्ती,बाघ, जरायो लगायत वन्यजन्तुको अवलोकन समेत गर्न सकिनेछ । भिजिट नेपाल २०२० कोरोनाकै कारण स्थगित भएपछि महानगरले पुन सम्वन्ध बढाएर आन्तरिक वाह्य पर्यटक बढाउन कार्यक्रम र योजना बनाएर काम गरिरहेको महानगर उप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् ।



