गैँडाकोट । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको रौनक अझ बढेको छ। मंसिर २७ गते चुनाव भएको काँग्रेसमा निर्वाचनका समय खसेका मत गनेर अझै सकिएको छैन ।
सभापति पदमा पहिलो चरणको निर्वाचनबाट कुनैपनि उम्मेदवारले ५० प्रतिशत ल्याउन नसकेपछि दोस्रो पटक निर्वाचन भएको थियो । अन्तत शेरवहादुर देउवा सभापतिमा निर्वाचित भएपछि वल्ल उपसभापतिको मत गणना भएको थियो । उपसभापतिमा पूर्णवहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएपछि अनि पालो भएको हो महामन्त्री पदको मतगणना ।
डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका गगन थापाले कति मत ल्याउँछन् होला भन्ने धेरैलाई कौतुहलताका वीच नतिजा सार्वजनिक भएका उम्मेदवारहरुमध्य सर्वाधिक मत ल्याएका छन ।
उनी भारी मत सहित नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भए । अर्का उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कुल ४६८२ मत खसेकोमा गगन कुमार थापाले मात्रै ३०२३ मत ल्याएका थिए । ४३ मत बदर भएको थियो । अर्का निर्वाचित उम्मेदवार विश्वप्रकाश शर्माले १९८४ मत ल्याए ।
पराजित अन्य उम्मेदवारहरु डा. प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९, डा. राजाराम कार्कीले १०६ मत प्राप्त गरेका थिए ।
महामन्त्री पदमा छ जना उम्मेदवारहरुमध्ये नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ (२) बमोजिम बढी मत प्राप्त गरेका दुई जना उम्मेदावरहरु गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको समितिले घोषणा गरेको हो ।
विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा निर्वाचित हुँदा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए । विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले जम्मा १०६ मत ल्याए ।
फोटो : पत्रकार विकास कार्कीको फेसवुकबाट साभार