गैँडाकोट । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । गगनकुमार थापाले सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् । कुल ४६८२ मत खसेकोमा गगन कुमार थापाले मात्रै ३०२३ मत ल्याएका थिए । ४३ मत बदर भएको थियो ।
मंसिर २७ गतेका दिन भएको निर्वाचनको मतगणना आज बिहीवार बिहान १० बजेर २० मिनेटदेखि सुरु भएको थियो । अर्का निर्वाचित उम्मेदवार विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । पराजित अन्य उम्मेदवारहरु डा. प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९, डा. राजाराम कार्कीले १०६ मत प्राप्त गरेका थिए ।
महामन्त्री पदमा छ जना उम्मेदवारहरुमध्ये नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ (२) बमोजिम बढी मत प्राप्त गरेका दुई जना उम्मेदावरहरु गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको समितिले घोषणा गरेको हो ।
गगन थापा शेखर कोइरालाको प्यानलबाट र विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा निर्वाचित हुँदा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए । प्रारम्भीक मत परिणामसागै आफ्नो हार स्वीकार गरेका उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिइसकेका छन् । विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले जम्मा १०६ मत ल्याए ।