गैँडाकोट। पार्टीको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा पराजित भएपछि नेपाली काँग्रेसका नेता एवम रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।
रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर शेर वहादुर देउवालाई राजीनामा बुझाएका हुन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । चुनावमा आफु पराजित भएपछि दिएको राजीनामाले राजनीतिक संस्कार स्थापित गराउन पहल गरेको भन्दै धेरैले प्रसंसा गरेका छन् ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको महामन्त्री पदका लागि मंसिर २७ गतेका दिन निर्वाचन भएको थियो ।
जसमा गगन कुमार थापाले ३०२३, डा. प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९ ,डा. राजाराम कार्कीले १०६ र विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरेका थिए । जम्मा ४६८२ खसेको मत मध्ये ४३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महामन्त्री पदमा छ जना उम्मेदवारहरुमध्ये नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ (२) बमोजिम बढी मत प्राप्त गरेका दुई जना उम्मेदावरहरु गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको समितिले घोषणा गरेको हो ।