चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट आवश्यक पर्ने दुई उप–सभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । खड्काले देउवा प्यानलबाट र गुरुङले डा कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका थिए ।
उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत प्राप्त गरे । उनी मात्र २ मतले पराजित भएका छन् । उनले देउवा प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए ।
बुधबार राति अबेर मतगणना सकिएको थियो । यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो ।
सभापतिमा भने दोस्रो पटक निर्वाचन गरेर शेरबहादुर देउवा विजयी भइसकेका छन् । उनले डा. शेखर कोइरालालाई दोस्रो पटक हराएका हुन । पहिलो चरणमा भने पाँच जना सभापतिका उम्मेदवार थिए । कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेका थिएनन् । त्यसैले काँग्रेसको विधान अनुसार दोस्रो चरणमा चुनाव भएको थियो । दोस्रो चरणमा देउवाले २ हजार ७ सय ३३ मत ल्याएका थिए । ४ हजार ६ सय २३ मत खसेकामा कोइरालाले भने १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो ।
पहिलो चरणको निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए । ४ हजार ६ सय ७९ मत खसेकाका देउवाले २ हजार २ सय ५८ (४८ दशमल २५ प्रतिशत), कोइरालाले १ हजार ७ सय २ (३६ दशमलब ३७ प्रतिशत), सिंहले ३ सय ७१ (७ दशमलव ९२ प्रतिशत), निधिले २ सय ५० (५ दशमलव ३४ प्रतिशत) र गुरुङले २२ (शून्य दशमलव ४७ प्रतिशत) मत ल्याएका थिए । ७६ मत बदर भएको थियो । पार्टीको विधानअनुसार सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ ।अहिले महामन्त्री पदका लागि मत गणना भइरहेको छ ।