डोलराज रानाभाट
चितवन । चितवनमा जनगणनाका सम्पूर्ण कार्य सम्पन्न भएसँगै जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीका अनुसार प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला स्तरीय जनगणना समन्वय समितिको बैठक बसेर कार्यालय आजदेखि बन्द भएको हो ।
१२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज अन्तिम पटक बैठक बसेको थियो । कोभिड १९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः केन्द्रीय तथ्याङ्क विभागको स्वीकृत कार्यतालिका अनुसार २०७८ भाद्र २१ गतेदेखी संचालनमा आएको थियो ।
भण्डारीले भने,“जिल्ला स्तरमा जनगणना सम्वन्धी सम्पूर्ण कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएकाले आजदेखि कार्यालय औपचारिक रुपमा बन्द भयो । तर तथ्याङ्क कार्यालय भने यतावथ संचालनमा रहीरहनेछ ।” केन्द्रीय तथ्याङ्क विभागको कार्यतालिका अनुसार मंसिर मसान्तसम्म कायम रहेको कार्यालयले सफलापूर्वक जिल्लामा जनगणनाको काम सम्पन्न गरेको र यो कार्यमा सहयोग गर्ने सम्पूर्णलाई अन्तिम बैठक बसेर धन्यवाद दिइएको भण्डारीले बताए ।

स्थानीय जनगणना कार्यालय भने मंसिर १५ मै बन्द भएका थिए । जिल्लाको भरतपुर महानगरपालिका ६ गितानगरमा, भरतपुर १० कार्यालयमै, भरतपुर २० को नयाँ बजार, माडी नगरपालिका, रत्ननगर नगरपालिका , कालिका र इच्छाकामना हेर्नगरी कालिका नगरपालिकामा र राप्ती र खैरहनी हेर्नेगरी राप्तीको भण्डारमा गरी सात वटा स्थानीय जनगणना कार्यालयको स्थापना गरिएको थियो ।
जिल्ला जनगणना कार्यालय चितवनले यस अवधिमा खटिएका सुपरीवेक्षक तथा गणकहरुद्वारा भरिएका प्रश्नावलीहरु,गणना सामाग्रीहरु तथा अन्य आवश्यक सम्पूर्ण कागजात केन्द्रीय तथ्याङ्क विभागको भण्डारण कक्ष कुपण्डोल ललितपुरमा मंसिर २० गते पुर्याएको थियो । जनगणना कार्यका लागि चितवन जिल्लाभर २१० सुपरीवेक्षक र ८६३ जना गणक खटिएका थिए । उनीहरु सवैको पारिश्रमिक बैँक खातामा पठाइसकिएको उनले बताए ।
२१० जना सुपरीवेक्षकले नासु स्तरको ३० हजार २ सय प्रति महिनाको तलव गरी कूल दुई महिनाको रकम, पाँच सय रुपैयाँ संचार वापतको खर्च र तालिम वापतको भत्ता समेत गरी रकम पाएका छन् । ८६३ जना गणकले खरिदार स्तरको सुरु तलव स्केल २८ हजार ६१० रुपैयाँका दरले भूक्तानी पाएका छन् । छोटो समयका लागि भएपनि सरकारले रोजगार दिएको र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी पश्चातको पहिलो जनगणनामा सहभागी हुन पाएकोमा उनीहरु उत्साहित रहेको भण्डारीको भनाई थियो ।

८६३ गणकमध्ये १० जनालाई संस्थागततर्फको गणना प्रयोजका लागि काजमा ल्याइएको थियो । जसमा नेपाल प्रहरीका चार जना, नेपाली सेनाका ४ जना र सशस्त्र प्रहरीवलतर्फ २ जना गणनाका लागि खटिएका थिए । जिल्लामा एक जना शिक्षकलाई समेत खटाइएको थियो । राप्ती नगरपालिाका वडानम्वर १३ मा कुनै पनि स्थानीय व्यक्ति मेरिटलिष्टमा नपरेपछि स्थानीय तहको शिक्षा शाखाबाट स्वीकृत लिएर उसैको सिफारिसमा प्रावि तहको शिक्षकलाई काजमा ल्याई गणना सम्पन्न गरेको भण्डारीले जानकारी दिए ।
कार्यालय संचालनका क्रममा भने स्थानीय जनगणना अधिकारीका लागि २ जना तथ्याङ्क कार्यालयका सुपरीवेक्षकहरु र वाँकी ५ जना सम्वन्धीत स्थानीय तहको अधिकृत छैठौँ स्तरका कर्मचारीहरु काजमा ल्याएर खटाइएको थियो । स्थानीय तहबाट सहायक कर्मचारी ३ जना, जिल्ला अदालतबाट १ जना, जिल्ला हुलाक कार्यालय मातहतको अतिरिक्त कार्यालयबाट ४ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १ जनालाई व्यवस्थापन कार्य समूहमा रहने गरी काजमाखटाइएको थियो ।
गणनाका क्रममा केन्द्रीय तथ्याक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसमेतले अनुगमन गरेका थिए । जिल्लाको विकट इच्छाकामना गाउँपालिका, राप्ती नगरपालिकाको वडानम्वर १० देखि १३, माडी नगरपालिकाको वडानम्वर ९ बाँदरझुला र १ नम्वरको वाल्मिकी आश्रममा समेत विनाकुनै अवरोध गणनाकार्य सम्पन्न भएको भण्डारीको भनाई छ । उनका अनुसार जिल्लाबाट १२० किलोमिटर दुरीमा रहेको वाल्मिक आश्रम क्षेत्रमा समेत भारतीय भूमि हुँदै पुगेर ९ घरपरीवारको सहजै गणना कार्य सकिएको बताए ।

प्रथम चरण अन्तर्गत घर तथा घरपरिवार सूचीकरणको कार्य सुपरीवेक्षकहरुद्वारा २०७८ भदौ ३० देखि असोज १८ गते सम्म २० दिनको अवधिमा र मूल गणना गणकहरुद्वारा कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणनाको कार्य भएको थियो ।
केन्द्रीय तथ्याङ्क विभागकले गणना सम्पन्न भएको ३ महिनाभित्र अर्थात फागुन महिनाभित्र प्रारम्भिक नतिजा प्रकाशन गर्नेछ । अन्तिम नतिजाका लागि भने करिव १ वर्ष लाग्ने छ । २०६८ को जनगणना भन्दा संघीय लोकतान्त्रीक गणतन्त्रको संविधान जारी पछिको पहिलो यो गणनाबाट वडा तहसम्मकै तथ्याङ्कहरुको नतिजा प्रकाशन गरिने र चितवनका ९८ वटै वडा कार्यालयबाट पहिलो पटक समुदायिक प्रश्नावलीहरु सुपरीवेक्षकहरुले भरेको छन् ।
चितवन जनसंख्या करिव ७ लाख !
चितवन जिल्लाको जनसंख्या ७ लाख पुग्ने अनुमान गरिएको छ । कार्यालयले यसवारे अहिले केही नबताएपनि जनसंख्या बढ्ने अनुमान गरिएको हो । गणक र सुपरीवेक्षकको संख्यालाई आधार मानेर अनुमान गर्दापनि करिव ७ लाख जनसंख्या पुग्ने बताइएको छ । ११औँ राष्ट्रिय जनगणना २०६८ अनुसार चितवनमा ५ लाख ७९ हजार ९८४ जनसंख्या रहेको थियो । जसमा २ लाख ७९ हजार ८७ जना पुरुष र ३ लाख ८९७ जना महिला रहेका थिए ।



