चितवन । अन्तत नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा ५० प्रतिशत ल्याउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनबाट उनी सभापतिमा निर्वाचित भएका हुन् । उनले दोस्रो चरणका एकमात्रै प्रत्यासी डा. शेखर कोइरालालाई पराजित गरेका हुन् ।
मंगलबार भएको दोस्रो चरणको मतदानमा निर्वाचित देउवा यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए ।
देउवाले २ हजार ७३३ मत ल्याएर निर्वाचित हुँदा डा. शेखर कोइरालाले १ हजार ८५५ मत ल्याए । ३५ मत बदर भएको छ । दोस्रो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए ।
कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।
सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।