गैँडाकोट । लामो समय खाडीमुलुक साउदीमा रहेर काम गर्दै आएका प्रविन रानाभाटले एस.पी. इलेक्ट्रिक पसल संचालनमा ल्याएका छन् । गैँडाकोट ४ कालिगण्डकी चोकमा उनले सो पसल संचालनमा ल्याएका हुन् ।
साउदीमा रहेर त्यहाँको प्रतिष्ठीत कम्पनी अलमराईमा वायरिङसँग सम्वन्धीत काम गरेका उनले त्यहाँको सीप प्रयोग गरी यहाँका सेवाग्राहीलाई सेवा दिन पसल संचालनमा ल्याएको बताए । करिव १० लाखकको लगानीमा व्यवसाय सुरु गरेको र विदेशको सीपलाई यहाँ प्रयोग गरी गुणस्तरीय काम गर्ने जानकारी दिए ।
विजुली सम्बन्धी सम्पूर्ण सामान थोक तथा खुद्रा विक्री गरिने र आवश्यकता अनुसार दक्ष प्राविधिकद्वारा हाउस वायरिङको सेवा दिने रानाभाटको भनाई छ ।
पसलमा पुगेर गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले शुभेक्षा प्रकट गर्दै युवाहरु स्वदेशमै स्वरोजगार हुनु सकारात्मक रहेको भन्दै विदेशीनु भन्दा स्वदेशमै व्यवसाय गर्न सवैमा आह्वान गरे । नगरपालिकालेपनि युवाहरुका लागि लगानी गरिरहेको र विशेष गरी उत्पादनमूलक तथा आयात प्रतिस्थापन हुने व्यवसाय संचालन गर्न आग्रह गरे ।
साथै रानाभाटले विदेशमा हासिल गरेको सीप स्वदेशमा प्रयोग गर्नु सह्रानीय कार्य भएको भन्दै वायरिङमा अन्य १० देखि १५ जनाले जागिर पाउने गरी व्यवसाय अघि बढाउन नगरप्रमुख पौडेलको शुभकामना दिए ।
गैँडाकोट ४ का वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले युवाहरुनै समाज निर्माणको खम्वा भएको भन्दै सीप हुनेले व्यवसाय गर्ने र नहुनेले सीप सिक्न आवश्यक भएको बताए । आफूसँग उत्साह,जोश,जाँगर भएपनि स्वदेशमा काम नगर्ने युवाहरु बढेको भन्दै रानाभाटले भने स्वदेश फर्कीएर व्यवसाय गरेकोमा खुसी व्यक्त गरे । सीप छ हातमा रोजगार साथमा भन्दै वडाले पनि युवालक्षित विभिन्न तालिमहरु संचालन गरिरहेको जानकारी दिए ।
रानाभाटले थोरै आम्दानी भएपनि आफ्नै परिवार समाजमा रहेर व्यवसाय गर्न पाउँदा खुसी लागेको बताउँदै विना कुनै झन्झट सहजै सेवा दिने बताए ।