काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत अहिले मत गणना जारी छ । ४ हजार ७४३ मतदाता रहेपनि ४ हजार ६७९ मत खसेको छ ।
अहिलेसम्म १ हजार ५ सय गनिसक्दा देउवाले ७२१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ५६२ र प्रकाशमान सिंहले ११६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ८१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ४ मत मात्र प्राप्त भएको छ ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।
नेपाली काँग्रेसका अनुसार ४ हजार ७४३ मतदाता रहको भएपनि ४६७९ मत खसेको छ । सोमबार भएको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६४ जना मतदाता अनुपस्थित भएका छन् । सोमवार बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो ।