काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत मतदानको कार्य सकिएपछि अहिले मत गणना सुरु भएको छ । सुरुमा सभापति पदको मत गणना सुरू भएको हो । राति १ बजेबाट सुरु हुने भनिए पनि बिहान चार बजेपछिमात्रै सुरू भएको छ।
नेपाली काँग्रेसका अनुसार ४ हजार ७४३ मतदाता रहको भएपनि ४६७९ मत खसेको छ । सोमबार भएको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६४ जना मतदाता अनुपस्थित भएका छन् । सोमवार बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो ।
कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा.शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, उप–सभापति विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
सभापति पदका उम्मेदवारहरुको मतगणना राष्ट्रिय सभागृहमा हुँदैछ भने अन्य पदका उम्मेदवारको मतपत्र पेटीका पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिएको छ । तयही नै गणना गर्ने तयारी छ । सभापतिका उम्मेदवारले यदि पहिलो चरणमा ५१ प्रतिशत मत नल्याए पुनः मतदान सुरु हुनेछ । पहिलो चरणमा धेरै मत ल्याउने शीर्ष दुई उम्मेदवार दोस्रो चरणमा भिड्नेछन ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।
शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।
प्रविधिको प्रयोग गर्दै आएको काँग्रेसले मतदान भने पाँच सय लिटरका पानी ट्याङ्कीमा खसालेको थियो । फेसबुक पेज लगायत विकसीत प्रविधि प्रयोग गर्दै आएको काँग्रेसले विद्युतीय मतदान मेशीनको विकास भइसक्दा पनि पुरानो तरिका अपनाएको भन्दै आलोचना समेत हुँदै आएको छ ।



