चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध नेटवर्कीङ व्यवसायको नाउँमा रकम लुट गर्ने र धन्दा मच्चाउनेहरुलाई पक्राउ गर्न सफल भएको छ ।
प्रतिवन्धित पिरामिड संरचनाको नेटवर्किङ विजनेशको सदस्य बनाई रकम ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार यस्तो थियो घटनाक्रम
नेटवर्कीङ व्यापारमा रहेर सदस्य बनाएपछि पैसा पाउने भन्दै भरतपुर २६ बस्ने वर्ष ३६ का सरोज घिमिरे र दुई जना भारतिय नागरिकहरु चितवन आए । भरतपुर १०मा सीजी ल्याण्डमार्क होटलमा नेटवर्किङ्ग व्यापारबारे सेमिनार गरिरहेका थिए । सो सूचना चितवन प्रहरीले पायो ।
मंसिर १७ गते साँझ ८ बजेतिर होटलको छैठौँ तल्लामा रहेको मिटिङ हलमा भारत राजस्थान बस्ने वर्ष २८ का जितेश बर्मा, भारत हरियाणा बस्ने वर्ष ३४ को अंकित शर्मा र सरोज घिमिरेले १०/१२ जनाको संख्यामा मानिसहरु भेला गरी बिभिन्न झुट्टा आस्वासन तथा विश्वास दिलाई भ्रममा पारीरहेका थिए ।
व्यक्तिगत लाभको लागि आफ्नो तथा आफुले भनेको ब्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउनु होस् भन्दै नेपालमा प्रतिवन्धित पिरामिड शैलीको क्यूनेट नेटवर्किङ्ग को सम्वन्धमा हौस्याइरहेका थिए।
त्यसपछि पुगेको चितवन प्रहरीले नेटवर्किङ बिजनेशको सदस्यता बनाउन प्रयोग गर्ने गरेको ल्यापटप थान–१ (एक), उनीहरुले प्रयोग गर्ने गरेको मोवाईल ४ थान सहित नियन्त्रणमा लिई कार्यालयको हिरासत कक्षमा राखीयो ।
प्रारम्भिक अनुसन्धानकै क्रममा पीडित बिकाश घिमिरेबाट अभियुक्त सरोज घिमिरेको बैंक खातामा रू.२७,५०,०००/– (सत्ताईस लाख पचास हजार रुपैया मात्र ) रकम जम्मा भएको देखियो ।
पीडित बिकाश घिमिरे समेतले अभियुक्त सरोज घिमिरेले आफुलाई बिभिन्न प्रलोभन देखाई आफ्नो तथा आफन्त(छोरा/श्रीमती) समेतको खातामा रू.२७,५०,०००/– (सत्ताईस लाख पचास हजार रुपैया मात्र ) दाखिला गर्न लगाएको बताए । आफूलाई नेपालमा प्रतिबन्धित पिरामिड शैलीको क्यूनेट नामक नेटवर्कीङ विजनेसको सदस्य बनाई ठगी गरेकोले सरोज घिमिरे समेतलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी आफ्नो ठगी गरेको रकम असल उपर गरी पाउँ भनि बिकाश घिमिरेको जाहेरी दरखास्त पर्यो ।
त्यसपछि प्रहरीले उनीहरु उपर नेटवर्किङ ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी चितवन अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेकोछ ।
डिएसपी अधिकारीका अनुसार भारतका राजस्थान प्रदेश ३–ग ११, हाउजिङबोर्ड शास्त्री नगर जयपुर बस्ने वर्ष २८ को जितेश बर्मा, भारत देश, हरियाणा प्रदेश, गुडगाउँ जिल्ला सेक्टर २३, त्रिनिटी टावर १८३ कोलारस घर भएको वर्ष ३४ को अंकित शर्मा र जिल्ला चितवन भरतपुर २६ बस्ने वर्ष ३६ को सरोज घिमिरे पक्राउ परेका हुन् ।
उनीहरु विरुद्ध मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ दफा २४९ उपदफा १, २ बमोजिम कसुर र मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ दफा २४९ उपदफा ३(ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार रुपैयासम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।