चितवन, मंसिर २५। चितवन जिल्लाको भरतपुर महानगरपालिकामा बाघले मान्छे खाएको छ । बाघले खाएको अवस्थामा एक पुरुषको हाडखोर मात्रै फेला परेको इलाका प्रहरी कार्यालय गितानगरका प्रहरी निरीक्षक सुरेन्द्र चौलागाइले जानकारी दिए ।
उनका भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदीलाई बाघले खाएको हो । सुवेदीलाई वेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा बाघले आक्रमणगरी हाडखोर मात्रै वाँकी रहेको अवस्थामा भेटिएको राप्ती तटीय सरसफाइ कार्यक्रमका संयोजक अपील घिमिरेले जानकारी दिए ।
उनका अनुसार बुधवार देखि हराएका सुवेदीको हाडखोर शुक्रवार दिउसो भेटिएको थियो । । देवघाट गए की भन्ने परिवारको आंकलन रहेपनि घर नफर्कीएपछि हिजो खोज्न थालिएको थियो । छितामाई मन्दिरमा उनी नियमित पूजा गरेर फर्कने गर्दथे । सोही क्रममा बाघले आक्रमण गरेको घिमिरेले बताए । सुवेदीको शरीरको एउटा खुट्टाको केही भाग र टाउकोको हाड मात्र बाँकी रहेको अवस्थामा भेटिएको छ । कपडा ,चप्पल खुट्टा बाट परिवारले पहिचान गरेका थिए ।
घिमिरेका अनुसार आर्थिक वर्ष २०७७/०७८ मात्रै २ जना स्थानीयले बाघले खाएको थियो भने यो आर्थिक वर्षमा उक्त मध्यवर्ती क्षेत्रको यो पहिलो घटना हो । उक्त मध्यवर्ती वन सवैभन्दा बढी बाघ बस्ने ठाउँको रुपमा परिचित रहेको छ । चितवनमा राष्ट्रिय बाघ गणना समेत जारी रहेको छ ।



