नवलपुर, मंसिर २४ । नवलपुरको गैँडाकोट नगरपालिकामा स्मार्ट सीटीको अभियान जारी रहेको नगरप्रमुख छत्रराज पौडेलले बताएका छन् ।
पौडेलका अनुसार अहिले फाइल बोकेर गाउँगाउँबाट आउनुपर्ने वाध्यता हटेको भन्दै अव फाइवर सेवा जनताको घरमा पुर्याउने गरी काम भइरहेको नगरप्रमुख पौडेलको भनाई छ । छिटो छरितो र उच्च गतिमा इन्टरनेट सेवा दिने, एउटै लाइनबाट नेट, टेलिफोन र टेलिभिजन हेर्न पाउने सेवा लिन सकिने भएकाले यसको प्रयोग र विस्तारमा जोड दिएको उनको भनाई छ ।
२०७७ जेठ २० गतेबाट गैँडाकोटमा फाइवरको सेवा दिन थालिएको हो । नेपाल टेलिकम गैँडाकोटका कार्यालय प्रमुख अर्जुन कुमार लामिछानेका अनुसार हालसम्म ३२० जना परिवारले यो सेवा लिएका छन् ।
२०६० साल अघिसम्म भरतपुरबाट तानिएको लाइनबाट यहाँ टेलिफोन सेवा उपलब्ध गराइन्थ्यो । ०७८ यरिया कोड भएपनि चितवनको यरिया कोड ०५६ कै लाइन चलाउनुपर्ने वाध्यता रहेको थियो ।
त्यसपछि नवलपरासीबाट नवलपुर भएसँगै यरिया कोड ०७८ बनाइएको हो । त्यसपछि पछिल्लो समय विकसीत प्रविधि र छिटो इन्टरनेट संचालन हुने फाइबर नेटको सेवा दिन सुरु भएको हो । २०७६ सालको अन्तिमतिर गैँडाकोटमा फाइवरको नेटवर्क विच्छाउने काम सुरु भएको गैँडाकोटका प्रमुख लामिछानेले बताए ।
फाइवरको नेटवर्क विच्छाएपछि २०७७ जेठ देखि ग्राहकको घरमा फाइवरको सेवा दिन थालिएको थियो । सुरुमा गैँडाकोटको वडानम्वर १, २ मा सेवा दिन थालेको टेलिकमले पछिल्लो समय वडानम्वर ५, ६, ८ नम्वरका जनतालाई सेवा दिन थालिएको र नेटवर्क विच्छाउने काम समेत जारी छ । तर नारायणगढ बुटवल सडक खण्ड विस्तारको काममा भएको ढिलाइले काम गर्न कठिन भइरहेको लामिछानेले बताए । सडक आयोजनाले पोलको काम जतिसक्दो चाँडो सक्छ त्यतिनै छिटो सेवा दिन सकिने उनको भनाई छ ।
अन्य इन्टरनेट सेवा भन्दा यो सेवा बढी प्रभावकारी रहेको र एउटै लाइनबाट नेट,इन्टरनेट, टेलिफोन र टेलिभिजन समेत चलाउन सक्नेगरी सेवा लिन सकिने भएकाले सेवाग्राहीहरुको संख्या बढ्दै गएको लामिछानेले बताए ।
एडिएसएलकै खर्चमा हाइ स्पीड इन्ेटरनेट फाइवरबाट लिन सकिने उनले बताए । एडिएसलबाट नेट जडान हुँदा अधिकतम चार सम्मको स्पीड गएपनि अहिले भने कम्तिमा ८ एमपीपीएसको नेट जडान हुने र टेलिफोन सेवा समेत प्रयोग गर्न पाउने सुविधा छ । गैँडाकोटमा अधिकतम ४२ एमपीपीएस सम्म क्षमताको फाइवर सेवा ग्राहकले लिएको रेकर्ड छ ।
नेपाल टेलिकम गण्डकी प्रादेशीक निर्देशनालयका बरिष्ठ इन्जिनियर रामचन्द्र पोख्रेलले गैँडाकोट कार्यालयमा पहिले २ वटा एपीसी रहेकोमा अहिले ४ वटा एपीसी थपेर ६ वटा एपीसी जडान भएको र यसले ३ हजार परिवारलाई सेवा दिन सकिने बताए । आगामी दिनमा २० वटा एपीसी जडान गरी १० हजार परिवारलाई पुग्ने गरी क्षमता विस्तार गर्ने उनको भनाई छ । नगरप्रमुख पौडेलले आफूले पनि राज्यले उपलब्ध गराएको फाइवर सेवा जडान गर्ने र अन्यलाई पनि यही सेवा प्रयोग गर्न सुझाव दिने बताए । सरकारले जनताको आवश्यकतालाई हेरी नयाँ र उच्चतम प्रविधिबाट सेवा दिनेकार्य सकारात्मक भएको र गैँडाकोटका बजारी क्षेत्रका सवै वडामा पुग्ने गरी काम भइरहेको नगरप्रमुख पौडेलको भनाई छ ।
बरिष्ठ इन्जिनियर पोख्रेलका अनुसार विश्वकै राम्रो गुणस्तरको इन्टरनेट सेवा दिन सकिने फाइवर नेपालमा भित्राएको भने जम्मा पाँच वर्ष भएको र गैँडाकोटमा गएको वर्षदेखि फाइवर टु द होम सेवा सुरु भएको हो । पहिला कपर प्रविधि थियो जहाँ टेलिफोन र इन्टरनेट दिने गरिन्थ्यो । फाइवरको सेवामा टेलिभिजन समेत दिन थालिएको गत वर्षदेखि हो ।
गण्डकी प्रदेशको ११ वटै जिल्लामा फाइवर सेवा पु्र्याइएको र पछिल्लो समय मनाङमा जडान गरिएको थियो ।
कान्छो लेखा कार्यालय कावासोती मातहत रहेर नवलपुरको गैँडाकोट सहित प्रगतिनगर,अरुण खोला रजहर ,त्रिवेणी लगायतका ठाउँमा समेत फाइवरको सेवा विस्तार गरिने उनको भनाई छ । कोरोना महामारीका कारण रोकिन गएपनि यो वर्ष कामलाई तीव्र पारेको उनले बताए । फाइवर सेवा जडान गरी सेवा लिन आग्रह गर्दै उनले बजारका अन्य इन्टरनेट सेवा प्रदायकको भन्दा सस्तो दरमा सेवा दिएको उनको भनाई छ ।
राष्ट्रको सम्पती र व्यक्तिले तिर्ने रकम सरकारी कोषमा समेत जाने भएकाले फाइवरनै प्रयोग गर्न उनको सुझाव छ ।
नेपाल टेलिकम गण्डकी प्रादेशीक निर्देशनालयका असिस्टेण्ट टेक्निकल अफिसर मोहन सुवेदीले फाइवरको उपभोगबाट सेवाग्राही सन्तुष्ट रहेको बताए । हालसम्म कुनै गुनासो नआएको उनले बताए ।
कपरबाट सेवा जाँदा सीमित गति हुँदा सेवाग्राही घाटामा हुन्थे भने अहिले फाइवरबाट आफूलाई आवश्यक अनुसारको सुविधान लिन सकिने उनको भनाई छ । यो वर्ष फाइवर वर्षको रुपमा घोषणा भएकाले यसको प्रयोग बढाउदै लैजाने कार्यमा आफूहरु रहेको बताए ।
२ वर्षको समय धेरैनै कामहरु भएको र धौलागिरी अञ्चलमा कपरका सेवा पुरै हटाएर फाइवर सेवा लिइसकेको उनले बताए ।
एउटा ग्राहकले जोडेर सेवा लिँदा पाएको सन्तुष्टीले अर्को ग्राहकलाई भनेपछि आफै बजारीकरण भइरहेको उनको भनाई छ । मूल्य, गुणस्तर र सेवा सवैमा सन्तुष्टी रहेको उनले बताए ।