चितवन । चितवन जिल्लामा एकै समय दुइवटा महोत्सव हुने भएको छ । आज उद्योग वाणिज्य संघ चितवनमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर सो बारेमा जानकारी दिइएको हो ।
चितवन महोत्सव पुष २५ देखि माघ ४ र रत्ननगर महोत्सव पुष २७ देखि माघ ८ सम्म हुने दुवै आयोजकले जनाएका छन् । हरेक दुई दुई वर्षमा महोत्सव गर्ने उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य सघवीच भद्र सहमति थियो । सहमति अनुसार जोर वर्ष रत्ननगर र विजोर वर्ष उद्योग वाणिज्य संघले महोत्सव गर्ने भनिएपनि यो पटक यो सहमति विपरीत महोत्सव हुन लागेको हो ।
जिल्लामा हुने महोत्सवलाई व्यवस्थित र विवादरहित बनाउन उक्त सहमति गरिएकापनि कोभिड महामारीका कारण यो पटक दुवै को सहमति सल्लाहमै एकै समय महोत्सव गर्न लागिएको पत्रकार सम्मेलन गरी जनाइएको छ । आफूहरुवी कुनैपनि द्वन्द्व र विवाद नभएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सवको १३औँ संस्करण र रत्ननगर महोत्सव २०७८ को ११ औँ संस्करण हुन लागेको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार पुष २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पौष २७ गतेदेखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव गरिने छ।
कोरोनाको नयाँ भेरियन्ट फेला परेको समय भएपनि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय चितवनले महोत्सव गर्न अनुमति दिएको अध्यक्ष श्रेष्ठले बताए ।
दुवै महोत्सवको उद्देश्य भने चितवनमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने नै रहेको उनीहरुले बताए ।
कोभिड महामारीको जोखिम कायमै रहेको भन्दै यस पटक स्टलको संख्या कम राख्ने र बढी खुल्ला ठाउँ हुनेगरी डिजाइन गरिने आयोजकको भनाई थियो । चितवनमा हरेक दुई दुई वर्षमा महोत्सव हुँदै आएको थियो । तर कोरोनाका कारण गत वर्ष हुन सकेको थिएन । यो वर्ष रत्ननगरको पालो भएपनि दुवै मिलेर छुट्टाछुट्ट ठाउँमा महोत्सव गर्न लागिएको रत्ननगर उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।
उद्योग वाणिज्य संघ चितवन विस २०१६ साल माघ १९ गते श्रीपञ्चमीका दिन स्थापित भएको हो भने रत्ननगर उद्योग वाणिज्य संघ २०५४ सालमा नगर उद्योग वाणिज्यको रुपमा स्थापना भएको हो ।
चितवन महोत्सव २०५३ साल देखी प्रत्येक २ वर्षको अन्तरालमा चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना गरिदै आएको छ । रत्तनगरले २०५७ सालदेखी महोत्सव गर्दै आएको हो । २०७६ साल अघिसम्म भने रत्ननगर पनि चितवन महोत्सवको आयोजक रहेको थियो । दुइ संघहरुको आयोजनामा महोत्सव हुँदै आएकोमा पछि छुट्टा छुट्टै महोत्सव हुन थालेपछि व्यवस्थित र सफल बनाउन जोर वर्ष रत्ननगरले र विजोर वर्ष उद्योग वाणिज्य संघ चितवनले महोत्सव गर्ने भद्र सहमति भएको थियो ।
२०७७ मा महोत्सव गर्ने पालो पाएको चितवनले कोरोनाका कारण आयोजना गर्न सकेन ।
प्राकृतिक,सांस्कृतिक,धार्मिक एवम जैविक विविधताले भरिपूर्ण चितवन जिल्ला पर्यटकीय दृष्टिकोणले राज्यको तेस्रो पर्यटकीय गन्तव्य हो । तर नेपाल आउने पर्यटकको रोजाईमा चितवन पर्दै जान थालेपछि यसलाई दोस्रो पर्यटकीय गन्तव्यमा विकास गर्ने सम्भावना रहेको उनीहरुको भनाई थियो ।
तर केही संचारमाध्यममा आएजस्तो आफूहरुवीच कुनै कटुता नरहेको र अहिलेको महोत्सवले मिति जुधाउँदा कूल कारोवारमा पर्ने असर वारे समेत अध्ययन गर्ने मौका मिलेको उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष सहनलाल प्रधानले बताए ।
चितवन महोत्सव ब्राण्ड बनिसकेको र यहीवाट सिकेर लेखनाथ महोत्सव भएको साथै धादिङ, मकवानपुर, नवलपरासी आदि ठाउँका व्यवसायीले समेत यहीबाट सिकेर महोत्सव गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । कोभिड १९ महामारीवीच महोत्सव गर्न दिने नदिने वारे जिल्ला कोभिड संकट व्यवस्थापन समितिसँग २ घण्टा छलफल भएको भन्दै त्यसपछि मात्रै अनुमति पाएको श्रेष्ठले बताए ।
पहिलेका वर्ष भन्दा १५० स्टल घटाएर कुल ३०० स्टल महोत्सवमा राखिनेछ । पटक पटक आयोजित महोत्सवले चितवनका उत्पादनले बजार पाएको र उत्पादीत वस्तुले उद्योगीकरण गर्न समेत सफल भएको उनको भनाई थियो । चितवन महोत्सवकै कारण पोल्ट्रीमा देश आत्मनिर्भर बनेको, ६५प्रतिशत केरा आयात हुने जिल्लामा अहिले अन्य ठाउँमा निर्यात गर्न सफल भएको, माछामा प्रगति गर्दै गएको राजु श्रेष्ठको दावी थियो ।
रत्ननगरले भने यो पटक वाल उद्यान निर्माणका लागि भारतीय नभई नेपाली कम्पनीलाई नै जिम्मा दिने बताउँदै महोत्सवले फरकपन दिने अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।