चितवन । मालपोत कार्यालय चनौलीका प्रमुख र एक जना अमिन घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौले घुस लिएको आरोपमा उनीहरुलाई आज पक्राउ गरेको हो ।
चनौलि मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र भरतपुर २० वडाका अमिन बिरेन्द्र बहादुर कठायत पक्राउ परेका छन् । प्रमुख पौडेललाई कार्यालयबाट र कठायतलाई भरतपुर ४ लंकुमा पक्राउ गरिएको हो ।
अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीका अनुसार छापा हान्दा कार्यालय प्रमुख पौडेललाई ३ लाख १४ हजार पाँच सय नगद र १० र ५ लाखका चेक सहित पक्राउ गरिएको हो । बरामद नगद मध्ये ५० हजार सेवाग्राहीले बुझाएको र दुई लाख ६४ हजार पाँच सय पौडेलको साथमा रहेको अवस्थामा बरामद गरिएको भण्डारीले जानकारी दिनुभयो ।
बरामद चेक उनकै नाममा काटीएकोे छ । सेवाग्राहीको कित्ताकाट गरीदिने आश्वासनमा कार्यालय प्रमुख पौडेलले घुस मागेका थिए । अमिन कठायतको साथबाट १ लाख ५० हजार नगद र तीन लाख ५० हजारको चेक अख्तियारले बरामद गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि काठमाण्डौ स्थित अख्तियारको कार्यालय लगिएको छ ।