चितवन, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन भव्य समारोहकाबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
देशभरका ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वटै वडाबाट आएका लाखौँ जनता, स्वेदशी तथा विदेशी पाहुनाहरुका बीचमा एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नुभएको हो । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो । उद्घाटन अगाडि आयोजित ¥यालीमा एमाले र केपी ओलीको पक्षमा नारासमेत लगाइएको थियो ।
एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरुले नारायणी नदी किनार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रुपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्ले समेत राखिएको छ । महाधिवेशन उद्घाटनमा विभिन्न दलका नेताहरुले मन्तव्य राख्दै शुभकामना दिनुभएको थियो ।
आज नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका लिलामणी पोखरेल,राप्रपाका कमल थापा, जनमोर्चाका चित्रवहावदुर केसी,जसपाका उपेन्द्र यादव, महन्थ ठाकुर लगायत नेताहरुले बोल्नुभएको थियो ।
कार्यक्रममा सम्वोधन गर्दै ओलीले अवको चुनावमा एमाले बहुमतका साथ विजयी हुने र आफ्नो नेतृत्वको सरकार हुँदा पूरा गर्न वाँकी काम सक्ने बताउनुभयो । नेपालको संविधान जनताको चाहान अनुसार संशोधन हुने र नेपाली भूमि भारतसँग वार्ता गरेर फर्काउन सकिने बताउनुभयो ।
पाँच लाख नेता कार्यकर्ता उतार्ने दावी गरेको एमालेले व्यवस्थापनमा भने केही कमजोरी देखियो । ज्यष्ठ नागरिकहरु समेत सहभागी हुन आएपनि उनीहरुलाई सहजै पहुच थिएन ।
पर्याप्त साउण्ड सिस्टम जडान नगर्दा मोटरवोट चढ्ने स्थानदेखि नारायणीपुल तर्फको भागमा बस्नेहरुले न भाषण सुन्न पाए न डिस्प्लेमा हेर्न । केही डिस्प्ले त संचालनमा पनि आएका थिएनन् । जसले गर्दा टाढा बाट आउँदापनि मञ्चमा के भइरहेको छ भन्ने देख्न र सुन्न हेर्न नपाएको भन्दै गुनासो गरेका थिए । एमाले चितवनका अनुसार ६ लाख मानिस उपस्थित भएको बतायो । भोलिबाट सौराहामा बन्दसत्र सुरु हुँदैछ।