चितवन, मंसिर १० । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । उहाँ हिजै हवाइमार्गबाट चितवन आइसक्नुभएको छ । महाधिवेशनमा भाग लिन प्रतिनिधिहरु हिजोदेखि चितवन आउन थालिसकेका छन् । अन्य नेताहरु पनि चितवन आइपुगेको एमाले चितवनले जानकारी दिएकोछ ।
मध्यान्न १२ बजे महाधिवेशनको उद्घाटन गरिने र पाँच लाख नेता कार्यकर्ताको उपस्थिती हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो । उद्घाटनपूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट विशाल जुलुस निकालिने भट्टराइको भनाई छ ।
महाधिवेशनमा आउनेहरुको स्वागतका लागि जिल्लाका विभिन्न ५० ठाउँमा स्वागत गेट, व्यानर, पार्टीका झण्डा विभिन्न ठाउँमा राखेर चितवनलाई झकीझकाउ बनाइएको छ ।
महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।
कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । आज बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । बन्द सत्र भने पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुनेछ । त्यहाँ रहदा प्रतिनिधिहरुलाई बेलुका आफू बसेको होटलमा र विहान सोही होटल सेभेनस्टारमै खानाको व्यववस्था गरिएको छ ।
पाँच लाख मानिस आउने बताएपछि स्थानीय प्रशासनले नो भेकल मुभमेन्ट भनेर आदेश जारी गरेपनि संविधानले दिएको अधिकार प्रयोग गर्नबाट बन्चित हुन नदिने योगेश भट्टराइको भनाई थियो । मालवाहक सवारी वाहेक अन्य सवै सवारी साधन सहजै संचालन हुने बताउँदै नो भेकल मुभमेन्ट हुनै नसक्ने बताउनुभएको छ ।
यद्यपी स्थानीय प्रशासनले अत्यावश्यक सवारी साधनहरु संचालनमा कठिनाई नहुने तर विहान १०बजेदेखि साँझ साँढे ५ बजेसम्म सार्वजनिक सवारी संचालन नगरिदिन आग्रह गरेको छ ।
त्यस्तै भट्टराइले यो महाधिवेशनमा साँढे ७ करोड खर्च हुने र सवै रकम पार्टीको आन्तरिक सक्रियतामा संकलन भएको बताए । महाधिवेशनको बन्दसत्रमा पत्रकारहरुलाई प्रवेश दिन नमिल्नेभएपछि सौराहमै रोयल सफारीमा मिडिया सेन्टरको स्थापना गरिएको छ । त्यही आएर बन्दसत्रमा भएका गतिविधिबारे प्रेस व्रिफिङ हुने प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमालले जानकारी दिनुभयो । महाधिवेशनले २२५ सदस्यीय नेकपा एमालेको नयाँ कमिटी समेत गठन गर्नेछ ।
सकेसम्म सहमतीमै नेतृत्वको टुगो लाग्ने र निर्वाचन भए केही पदमा मात्रै हुने एमाले नेता रामबहादुर थापा बादलले बताउनुभएको छ।