चितवन,कार्तिक २७ । जातीय विभेदका कारण कुटपीट भएर मृत्यु भएको भनिएको भीम वहादुर विक हत्या प्रकरणमा दुई जना जेल चलान भएका छन । उनीहरु पूर्वपक्षका लागि जेल चलान भएका हुन् ।
असोज २८ गते बिहीबार भरतपुर ४ दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् । भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकका परिवारको आरोप छ ।
अधिकारकर्मीहरुले जातीय आधारमा कुटपीट भएको भनिएपनि अनुसन्धानबाट कर्तव्य ज्यान मुद्दामा मात्रै मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा चितवन अदालतकी न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् । आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् ।
आरोपितहरूलाई कुटपीट गरेकै दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो । पोष्टमार्टम रिर्पोटमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए । परिवारले अझै पनि शव बुझेको छैन ।



