गैडाकोट । राष्ट्रिय १२औं जनगणना २०७८ गैडाकोटमा पनि सुुरु भएको छ। नगरप्रमुख छत्रराज पौडेलले विवरण भर्ने फारम गणकलाई हस्तान्तरण गरेर जनगणनाको सुरुवात गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले सवै नगरवासीलाई यथार्थ तथ्यांक दिन अनुरोध गर्नुभएको छ ।
१० वर्षमा आउने यो अभियान सफल बनाउन आफ्नो र नगरपालिकाको पूर्ण सहयोग रहने उहाको भनाइ थियो । मेरो गणना मेरो सहभागीता भन्ने मूल नाराका साथ सुरु भएको जनगणना सफल पार्न जनप्रतिनिधिलाई समेत आह्वान गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडानम्वर ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले जनप्रतिनिधिहरुको तर्फबाट यो अभियान सफल पार्न पूर्ण सहयोग रहने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले राज्यले व्यक्तिको क्षमता पहिचान गर्न पनि प्रश्नावली राखेको भन्दै व्यक्ति,समाज र देशलाई फाइदा हुने बताउनुभयो ।
विकासको फड्को मार्न देखि अन्तराष्ट्रिय सम्वन्ध कस्तो रहने भन्ने सम्मको दिशानिर्देश गर्न मद्दत मिल्ने उहाँले बताउनुभयो ।
स्थानीय जनगणना अधिकारी देवेन्द्र गौतमले तालिमप्राप्त गणकहरु आइपुग्ने भन्दै सहजै विवरण दिन आग्रह गर्नुभयो । अहिले संकलित विवरणकै आधारमा देशको नीति,कार्यक्रम योजना बन्ने उहाँको भनाइ थियो ।
आजदेखि देशभर सुरु भएको जनगणनामा ३९ हजार गणक खटिएका छन् । ९ हजार सुपरीवेक्षक छन् । गैँडाकोटमा भने २० जना सुपरीवेक्षक र ९७ गणक खटिएका छन् ।