चितवन,कार्तिक २५ । आजदेखि सुरु हुने १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा ८६७ जना गणकहरु घरघर पुग्दैछन् ।
जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीका अनुसार जिल्लाको सात वटा स्थानीय तहको सवै घरघरमा पुग्ने गरी उनीहरुलाई खटाइएको हो । २१० जना सुपरीवेक्षक रहेका चितवनमा उनीहरुले यस अघि संकलन गरेको घर तथा घरपरिवार सूचीकरणका आधारमा ती गणकहरु घरघर पुगेर विवरण संकलन गर्ने भण्डारीले जानकारी दिए ।
मूल गणनाका लागि आवश्यक पर्ने सवै सामाग्रीहरु गणकहरुलाई हस्तान्तरण गरिसकिएको छ । उनीहरुलाई मूल प्रश्नावली कसरी भर्ने भन्नेवारे कार्तिक १३ देखि १६ गते सम्म तालिम प्रदान गरिएको थियो । तालिम पश्चात गणकहरुलाइ नियुक्तिपत्र, करार नामा र अन्य फाराम सहितका सामाग्री प्रदान गरिएको हो ।
यस पटकको गणनामा वडा तहसम्मकै विवरण आउने भन्दै गणकहरुलाई सवै प्रश्नहरु कसरी सोध्ने र अभिलेखिकरण गर्ने भन्नेवारे तालिम दिएर फिल्डमा खटाइएको हो । गणक हितमाया प्रजाले पहिलो पटक गणक वन्न पाउँदा उत्साहित रहेको बताइन् । चेपाङ समुदायबाट आफू पनि यस अभियानमा सहभागी हुन पाउँदा एकातिर आम्दानी समेत हुने र अर्कोतर्फ अभियानमा जोडिन पाउनु सकारात्मक पक्ष भएको उनको भनाई थियो ।
इच्छाकामना गाउँपालिका वडानम्वर ५ की सुपरीवेक्षक सावित्री पुडासैनी खनालले सवै गणकहरु सम्पर्कमा आइसकेको र तयारीका साथ फिल्डमा खटिएको बताइन् । गणकलाई आइपर्ने समस्यामा आफूहरुले सहजीकरण गर्ने र सही,सत्य तथ्य विवरण ल्याउने गरी काम गर्ने उनले बताइन् ।
जिल्लामा रहेको भौगोलिक विकटताका आधारमा सम्भव हुँदासम्म सोही वडाका स्थानीयलाई गणकको जिम्मेवारी दिएको छ भने अनलाइनबाट फर्म नभर्नेहरु रहेपनि नजिकका व्यक्तिलाई गणकको रुपमा खटाइएको छ । एक जना सुपरीवेक्षकले चार जना गणकलाई सुपरीवेक्षण गर्नेगरी फिल्डको कार्यतालिका बनाइएको भण्डारीले बताए ।
पुरै ८० वटा प्रश्नावलीमा परिचयात्मक खण्ड, पारिवारीक, व्यक्तिगत र विषयगत खण्डहरु रहेका छन् । एक जना गणकलाई एक परवारको तथ्याङ्क संकलन गर्न करिव आधा घण्टाको समय लाग्नेछ । चितवनमा कागजी विधिनै प्रयोग गरिएको छ । समाजिक तथ्याकं भएपनि आर्थिक विवरण समेत प्राप्त हुने यो गणना संघीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो हो ।
यसलाई सफल बनाउन वडा तहसम्मनै सहजीकरण संयन्त्र बनाइएको र तथ्याङ्क दिनु नागरिकको दायित्व रहेको भन्दै दिएका विवरण तथ्याक ऐन २०१५ अनुसार गोप्य रहने बताए । त्यसैले पनि सही तथ्याक दिन आग्रह गर्दै यदी तथ्याकं नदिएर, गणकलाई दुव्र्यवहार गरे नागरिकलाई कारवाहीको समेत कानुनी व्यवस्था रहेको उनले जानकारी दिए ।



