चितवन । छठ पर्व आज सकिदै छ । चार दिनयतादेखि मनाइरहेको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ । मूल विधि चतुर्थीमा सुरु भएको छठमा षष्ठीका दिन ९हिजो० बेलुका अस्ताउँदो सूूर्यलाई अर्घ्य दिइयो ।
सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाआराधना गरेपछि यो पर्वको समापन गर्ने परम्परा छ ।
अस्ताउने र उदाउने सूर्यलाई पूजा गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिइनु भन्ने लगाइन्छ ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
यता चितवनको नारायणी नदी किनारमा पनि उदाउदो सूर्यलाई अर्घ दिएर छठ मनाइएको छ । घाटमा समूह समूह बनाएर पूजा गर्नेहरुको भीड नै छ । गत वर्ष कोभिडका कारण घरमै सीमित भएर पर्व मनाउन वाध्य भक्तजनहरु यस पटक हर्षोल्लासका साथ पूजा गरी मनाएका हुन् ।