मकवानपुर,कार्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । हिजो सोमवार प्रदेश सभामा १०९ सदस्य रहेकोमा मतदानमा १०४ उपस्थित रहेका थिए । पाण्डेले विश्वासको मतको पक्षमा ५९ मत पाएका हुन् । विपक्षमा ४३ मत र २ सदस्य मत दिन्न भन्ने पक्षमा रहेका थिए ।
उनलाई आफ्नै पार्टी नेकपा एकीकृत समाजवादी,नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टीका सांसदको विश्वासको मत पाएका हुन् ।
कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिएका हुन् । विश्वासको मत लिन कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
तर उनलाई नेकपा एमाले, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीले भने मत दिएनन् ।संसदमा बोल्दै मुख्यमन्त्री पाण्डेले तीन महिनाभित्र स्वेत पत्र जारी गरी आफ्नो सरकारे गर्ने कार्य र विगतका सरकारको कमजोरी छरपष्ट पार्ने बताए । आफ्नो सरकारले आर्थिक अनुशासनको पालना गरी फजुल खर्च घटाउने र मन्त्रालय थप गर्नेवारे आफूहरु प्रवेशनै नगरेको दावी गरे ।
अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गरी जनताको मागलाई सम्वोधन गर्दै जाने उनको भनाई थियो । प्रदेश निर्वाचन क्षेत्रमा विनियोजन गर्ने बजेटहरुलाई सन्तुलन गर्ने र विगतका सरकारले असन्तुलन हुनेगरी बजेट बाँडेको भन्दै कतै बजेटनै नपरेको कतै ठूला आयोजनाहरु दोहोर्याएको आरोप लगाउदै आफूले त्यो नदोहोर्याउने बताए । असम्भव योजनामा हात नहाली सम्भव आयोजना मात्रै अगाडि बढाउने र योजना समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
विगतमा जस्तो संविधाननै मन परेन भनेर च्यात्ने काम आफूहरुले नगर्ने उनको भनाई थियो । जनताबाट निर्वाचित व्यक्ति तानाशाहको रुपमा विकास भएको भन्दै गठवन्धन भने सधैँ जनताको अभिमतलाइ कदर गर्दै संविधानको पूर्ण रक्षा गर्ने उनले बताए । मत दिएर राजनीतिक संस्कारको सुरुवात गर्न समेत विपक्षिलाई उनले आह्वान गरेका थिए ।
मत नदिएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का दिपक निरौलाले संसदमा बोल्दै जनताको मत नभए प्रतिपक्ष भन्दा तल बस्न तयार रहेको तर यो अपवित्र गठवन्धनबाट वनेको सरकारलाई मत नदिने भनाई राखेका थिए ।
प्रदेशसभाको स्थापनादेखि सत्तापक्षको रुपमा रहेको एमाले पहिलो पटक सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । यसअघि बहुमतका आधारमा एमालेबाट डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री बनेका थिए । एमालेसँग हाल सभामुखसहित सदनमा ४३ मत रहेको छ ।
संसदमा बोलेका नेकपा माओवादी केन्द्रका नेता एवम प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेलले केपी ओलीको असक्षमताका कारण वागमती प्रदेश विघटन भएर गठवन्धनले संचालन गर्नुपरेको भन्दै प्रदेशको हित र विकासमा गर्न चाहानेले पाण्डेलाई विश्वासको मत दिन आह्वान गरेका थिए । पक्ष विपक्ष नभई मत दिन र जनहितमा लाग्न अनुरोध गरेका थिए ।
काँग्रेसका इन्द्रवहादुर वानियाले राजेन्द्र पाण्डे नेतृत्व सरकारले गरेको निर्णय राम्रो रहेको भन्दै जनतालाई भ्रम नछर्न एमालेलाई आग्रह गरे । संविधानको व्याख्या अनुसार केन्द्र र प्रदेशमा गठवन्धन बनेको भन्दै संविधान वर्खिलापमा कुनै काम नभएको प्रष्ट पारे । गठवन्धन हुनुपर्ने परिस्थिती एमालेलेनै सृजना गरेको भन्दै जनताको अभिमत स्वीकार गर्न नसकेर एमाले सरकारबाट वाहिरनुपरेको उनको भनाई थियो ।
जनता समाजवादीका प्रेम वहादुर तामाङले पाण्डे नेतृत्वको सरकारले महङ्गी हटाउने, जनजातीहरुको हक अधिकारको रक्षा गर्दै उत्पीडित जाती जनजातीहरुको पहिचान सुनिश्चित गर्ने आशा सहित मत दिने बताए ।
संसदमा आफ्ना भनाई राखेका विवेकशील साझा पार्टीका रमेश पौडेलले अहिलेको सरकारले मन्त्रालय फुटाउन लागेको भन्दै आपत्ती जनाए । यस अघिका मुख्यमन्त्रीलाई फुटाउन जरुरी नभएको भन्दै अहिलेको सरकारलाई किन जरुरत पर्यो ? उनको प्रश्न थियो । नेपाल मजदुर किसान पार्टीका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइले कुनैपनि सरकारले जनताको वास्तविक समस्या नउठाएको र भोटको राजनीतिमात्रै गरेको बताए । शासक वर्गको कुर्ची तानातानबाट आफूहरु टाढा रहेर नेपाली जनताको आवाज उठाइरहने बताए ।



