चितवन । नेपालीहरुको दोस्रो महान चाड तिहारको आज विशेष तथा अन्तिम दिन भाइटीका । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथै सुस्वास्थ्य, दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताइन्छ । टीका ग्रहणपछि दाजुभाइहरुले दिदीवहिनीलाई दानदक्षिण दिने गर्दछन् ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको पन्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।