चितवन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले बनाउने भनेको कुरुक्षेत्रमा आफूले धार्मिक क्षेत्र बनाउने बताउनुभएको छ । हिजो मंगलवार कार्तिक १६ गते माडीमा भएको कार्यक्रममा बोल्दै ओलीले अयोध्याधाम निर्माण गरी उक्त क्षेत्रको विकास गर्ने बताउनुभएको हो । यो सरकारबाट बजेट विनियोजन भएर अयोध्याधाम वन्ने भन्ने आशा समेत गर्न नसकिने भन्दै अवको ढेड वर्षमा आफूहरु सरकारमा गएर रामधाम बनाउने बताउनुभएको हो ।
अहिलेको सरकार यस तर्फ कुनैपनि बजेट विनियोजन नगर्ने तर एमालेको सरकार आएपछि बढिमा ढेड वर्षमा अयोध्याम निर्माण गरी विकास गर्ने उहाँको भनाई छ ।
माडीको वाँदरमुढे घटना जस्तै बनाउने भनेर होला कुुरुक्षेत्र बनाउने प्रचण्डले बताएका भन्दै ओलीले आफूले शान्ति क्षेत्र बनाएर देखाउने दावी गर्नुभयो ।
प्रचण्डको निर्वाचन क्षेत्र माडीमा मंगलवार पुगेका ओलीले कुरुक्षेत्रलाई आफूले पठाएका राम र सीताले छेकवार गर्ने बताउँदै रामले माडीलाई मणी बनाउने बताउनुभयो । अयोध्याधाम निर्माण गर्न छाडेर प्रचण्ड कुरुक्षेत्रको घोषणा गर्दै हिँडेको ओलीले आरोप लगाउँदै कुरुक्षेत्रमा लडाई हुँदा कौरवले नभई पाण्डवहरुले जितेको उदाहरण व्यक्त गर्नुभएको थियो ।



