चितवन । नेकपा एमालेबाट मुख्यमन्त्री वन्नुभएकी अष्टलक्ष्मी शाक्यले अन्तत राजीना मा दिनुभयो । विहानसम्म विश्वासको मत लिने पक्षमा समाचार आएपनि दिउसो उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाउनुभएको हो । राजीनामा पछि प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।
प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले आज राजीनामा दिनुभएको हो । १०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि एमालेको ४३ जना मात्रै सांसद छन् ।
पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।