हेटौँडा । आज वागमती प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने फैसला हुँदैछ । अदालतबाट नभई जनताबाट निर्वाचित भएर गएका प्रदेशसभा सदस्यहरुले दिने मतका आधारमा आज वागमती प्रदेशको मुख्य मन्त्री चयन हुँदैछन् । अहिले अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको पद सम्हाल्नुभएको छ । नेकपा एमाले फुटेर नेकपा समाजवादी बनेपछि उहाँले आज विश्वासको मत लिदै हुनुहुन्छ । जसमा मतविभाजनको कार्य आज हुने भएको हो ।
हेटौँडामा रहेको प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने छ ।
मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्तावलाई गत ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्नुभयो ।प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् भने विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ ।
विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेका छन् । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि विश्वासको मत लिनुपरेको हो । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल हुनुभएको थियो ।
प्रदेशसभाले कार्यविधि बनाएको छ जसमा दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको संयोजक छिरिङदोर्जे लामाले बताउनुभयो । कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ । यदि अष्टलक्ष्मी शाक्यले आफूले बहूमत पुर्याउन सक्दिन जस्तो लागे राजीनामा दिने सामान्य प्रचलन भएपनि विपक्षि गठवन्धनलाई चुनौति दिनपनि विश्वासको मत लिने तर राजीनामा नदिने बताइएको छ । यदि ५५ सांसद पुर्याउन सके शाक्यले मुख्यमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिन सक्नुहुनेछ ।



