चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आयोजनामा १०औँ एशियन भैँसी सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा भैँसीसँग सम्वन्धीत १७ देशका विज्ञहरुले १३५ भन्दा बढी आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्रराय यादवले भर्चुअल माध्यमवाट उद्घाटन गर्नुभएको सम्मेलन कार्तिक १२ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शेरवहादुर देउवाले सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्शले नयाँ नीति निर्माणमा सहयोग पुग्ने बताउँदै सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले भैँसी पालन बढाउन सके आयआर्जनमा वृद्धि हुने बताउनुभयो । भैँसीको विकास, नयाँ खोजको प्रयोग आदिमा नेपालले उच्च प्राथमिकता दिने उहाँको भनाई छ।
भैँसीको विकास र आविष्कार भएका नयाँ कुराहरु सार्वजनिक गर्न सम्मेलनको आयोजना गरिएको कार्यक्रमका संयोजक प्राध्यापक डाक्टर भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो ।
१० औँ एशियन भैँसी सम्मेलनमा आज ६ वटा कार्यपत्र प्रस्तुत भएको छ । कार्यक्रम संयोजक प्राध्यापक डाक्टर देवकोटाका अनुसार इटली, नेपाल,भारत पाकिस्तान , चीन र श्रीलङ्काका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका हुन् । भैँसी वहुउपयोगि जनावर भएकाले यसको विकास र नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउन विज्ञहरुले जोड दिइरहेका छन् । आज प्रस्तुत कार्यपत्रहरु आआफ्ना देशमा भैँसीको अवस्था, खोजी भएका नयाँ कुरा तथा प्रयोग आदिवारे चर्चा गरिएको थियो ।
भोलिबाट अनुसन्धानमूलक कार्यपत्र क्रमश सुरु हुने र वाँकी चार दिन पुरै अनुसन्धानत्मक कार्यपत्र माथि छलफल गरी निष्कर्शमा पुग्ने गरी तालिका रहेको उहाँको भनाई छ ।
सम्मेलनमा प्रस्तुत कार्यपत्रको सारांश तयार पारी नेपालका भैँसी पालक किसानसँग जोड्ने गरी नीति निर्माणका लागि समेत सम्मेलनले सहयोग पुर्याउने आशा गरिएको छ ।