चितवन।देशमै पहिलो पटक चितवनको रामपुरमा भैँसी सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मुख्य आयोजनामा चितवनको रामपुरमा कार्तिक ८ देखि १२ गतेसम्म भैँसी सम्मेलन हुने भएको आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयले जानकारी दिएको छ ।
१०औँ एसियन बुफेलो कग्रेस २०२१’ नाम दिएर उक्त सम्मेलन हुँदैछ । भैँसी पालनको विकास र नयाँ प्रविधि तथा भैँसीसँग सम्वन्धीत नयाँ आविष्कार घोषण गर्न उक्त सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो । साथै यसले वैज्ञानिकहरुवीच अन्तरसम्वन्ध विस्तार र खोजी भएका नयाँ सफलताको वाँडफाँडका लागि पनि मद्दत मिल्ने उहाँले जानकारी दिनुभयो ।
उक्त सम्मेलनमा १७ देशका प्रख्यात विज्ञहरुले १३५ भन्दा बढि कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। विभिन्न सात वटा विधाका कार्यपत्र प्रस्तुत गरीने र त्यसमाथि ३५० जनाभन्दा बढी वैज्ञानिक,प्राध्यापक,कृषक विद्यार्थी तथा सम्वन्धीत विषयका सरोकारवालाहरुले बहस गर्न सकिने व्यवस्था मिलाइएको छ ।
सम्मेलनबाट आएको नयाँ खोजलाई भैँसी पालक किसानसँग जोड्ने र यसले सरकारलाई नयाँ नीति निर्माण गर्न सहयोग पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताउनुभयो ।
सम्मेलनमा भर्चुअल र भौतिक दुवै माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्ने उक्त सम्मेलनको नवाँै सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो ।
पछिल्लो खोज अनुसार भैँसीलाई वेमौसमीमा पनि प्रजनन हुन सक्ने कुरा पत्ता लागेको र यसलाइ किसानसँग जोड्दै विश्वविद्यालयमै भैँसी अनुसन्धान केन्द्र स्थापनको तयारी भइरहेको डा. देवकोटाले जानकारी दिनुभयो ।
विश्वर भैँसी उत्पादनको हिसावले नेपाल चौथो र संख्याको हिसावले छैठौँ स्थानमा रहेको उहाँको भनाई छ । अहिले नेपालमा करिव ५५ लाख भैँसी रहेको र देशमा हुने दुध उत्पादनको करिव ६५ प्रतिशत भैँसीले योगदान गरेको उहाँको भनाई थियो । भैँसी उपयोगिताको हिसावमा पनि यसको पालनका लागि फाइदा हुने भन्दै मासुमा समेत करिव ५४ प्रतिशत योगदान भैँसीले गरेको उहाँकाले जानकारी दिनुभयो ।
नेपालमा लिमे,पारकोटे,गड्डी,तराई जात र मुर्रा प्रजातिका भैँसी छन । पछिल्लो समय हाइव्रिड समेत बनाएर भैँसी पालन हुँदै आएको छ ।