चितवन । कार्तिक महिनामा आएको अविरल वर्षाले पाकेको धानमा क्षती पुग्यो । वर्षभर गरेको मेहनत वेमौसमको वर्षाले क्षती पुर्याएपछि किसानहरुको आँखामा आँशु छ । जव विपत्तीले क्षती पुर्याउँछ तव स्थलगत अवलोकन गर्नेहरु सक्रिय हुन्छन्,हेर्छन अनि जान्छन् । तर रत्ननगर नगरपालिकाले भने किसानलाई प्रतिविघा १० हजार राहत दिने निर्णय गरेको छ । स्थलगत अवलोकन गर्दै मेयर नारायण वनले धानमा क्षति भएपछि निरास बनेका किसानहरुलाई तत्काल राहत उपलब्ध गराउने बताउनुभयो ।
प्रतिकठ्ठा पाँच सय अर्थात् विघाको १० हजार रुपैयाँका दरले किसानलाई राहत उपलब्ध गराउने मेयर वनले जानकारी दिनुभयो । ‘यो रकम पर्याप्त होइन’, ‘भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुने छ ।’ उहाँले भन्नुभयो ।
भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने भन्दै ज्याला दिने पैसाको अभावमा किसानको धान खेतमा कुहिन नदिने उहाँको भनाई छ । तत्काल कार्यपालिकाको बैठक बसेर राहतको विषयमा निर्णय गर्ने र अहिले नगरपालिकाले १६ वटै वडामा क्षतिको विवरण संकलन गरिरहेको छ । वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको छ ।



