चितवन । संघीय मातहतमा रहेको जिल्लाको एक मात्रै सरकारी अस्पताल भरतपुर अस्पतालले तीन औषधि सप्लायर्सलाई कारवाही गरेको छ । औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याएको भन्दै सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो ।
अस्पताल विकास समितिको बैठक बसेर कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिनुभयो। औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उहाँको भनाई छ । अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ ।
कारबाही स्वरुप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ । सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका फार्मेसीमा औषधि आपूर्तिका लागि विभिन्न १० कम्पनीले ठेक्का सम्झौता गरेका थिए । विसं २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउनका लागि ती सप्लायर्ससँग सम्झौता गरिएको हो । सर्जिकल सामानतर्फ भने ६ सप्लायर्ससँग सम्झौता भएको थियो ।