चितवन,कार्तिक ७ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय ऐतिहासिक भएको भन्दै एमाले चितवन उत्साहित देखिएको छ । वागमती प्रदेश कमिटीको विशेष पहलमा चितवनमा महाधिवेशन गर्ने निर्णय भएसँगै तयारी समेत सुरु भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
भरतपुर गार्डेन रिर्सोटमा नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी ऐतिहासिक निर्णय सफल बनाउन सवैपक्षको सहयोग आवश्यक भएको जनाएको हो । महाधिवेशन गर्ने निर्णय हिजो मात्रै भएको भन्दै स्थायी कमिटीलाई धन्यवाद दिँदै आजदेखि महाधिवेशनको तयारी सुरु भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।
देशकै मध्यभागमा रहेको ठाउँ भएकाले समेत महाधिवेशनमा आउने प्रतिनिधिहरुलाई आउन जान सजिलो समेत रहने उहाँको भनाई थियो । ऐतिहासिक, सामरिक, राजनीतिक आदि हिसावले समेत उपयुक्त ठाउँ चितवन भएकाले महाधिवेशन हुने स्थान तोकिएको जानकारी दिनुभयो । विभिन्न संचारमाध्यममा आएजस्तो प्रचण्डलाई चुनौति दिन नभई पार्टीलाई थप बलियो बनाउँदै आगामी चुनावमा अझ ठूलो दल बनाउन सहयोग पुग्ने गरी महाधिवेशन चितवनमा गर्न लागिएको एमाले चितवनले जनाएको छ ।
चितवनमा हुने महाधिवेशनले पार्टीलाई थप एकतामा वाँधिएको सन्देश दिने बताउँदै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी हुने र उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको बताउनुभयो । ठाउँका लागि यहाँका सर्वपक्षिय राजनीतिक दल तथा प्रहरी,प्रशासन सँगै छलफलको कार्यलाई तिव्र पारिने उहाँको भनाई थियो ।
महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुने भन्दै उहाँले विद्यान महाधिवेशनमा ६ हजार ३३७ जनाको उपस्थिती रहेको जानकारी दिनुभयो ।
अहिलेको अवस्थामा नेकपा एमालेसँगै एक्लै लड्ने कुनै पार्टीको हिम्मत नभएकाले आफूहरुको प्रतिस्पर्धा गठवन्धनसँग रहेको उहाँले बताउनुभयो । महाधिवेशनलाई प्रचण्डलाई चुनौति दिन चितवनमा गरिएको रुपमा नबुझ्न आग्रह गर्दै फागुन भित्र जसरी सक्नुपर्ने कानुन प्रावधान रहेकाले मंसिर १० देखि १२ गते गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा एमालेका नेताहरुको उपस्थिती रहेको थियो ।