चितवन । चाडपर्वमा समेत दुर्घटना नरोकिएपछि चितवन ट्राफिकले आफ्नो सक्रियता बढाएको छ । चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार यो पटक मुख्य सडक भन्दा बढि दुर्घटना भित्रि सडकमा भइरहेको बताउनुभयो । भित्रि सडकमा भएका अधिकाँश दुर्घटनामा चालकको दोष देखिएको भन्दै नयाँ योजना अनुसार दुर्घटना न्यूनिकरण गर्न चनचेतनामूलक कार्यक्रम गरिएको हो ।
जस अनुसार आज जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले ’मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, सिट क्षमता भन्दा बढी यात्रु नबोकौं, तिव्रगतिमा सवारी नचलाऔं, ट्राफिक नियमको सदैव पालना गरौं, थकान र तनावमा सवारी नचलाऔँ भन्ने लेखीएको प्ले कार्ड सहित जिल्ला स्थित राजमार्गको बिभिन्न स्थानमा सवारी चालकलाई सचेत गराइएको हो ।
त्यस्तै सवारी दुर्घटना न्यूनिकरणको लागी आज नै भरतपुर महानगरपालिका १ आँपटारी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढ देखि मुग्लिङ तर्फ जाने सवारी साधनलाई लक्षित गरी चितवन अटो मेकानिकल व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा यान्त्रिक परीक्षण गरिएको छ ।
सबै प्रकारका सवारी साधनहरुको यान्त्रिक परिक्षण गरिएकोमा आज ४४ वटा सवारी साधन चेकजाँच गरिएको हो । उक्त चेकजाँच गर्दा सवारी साधनको बत्तिको अवस्था ठिक नभएको, टायरमा हावा कम भएको, फ्युल पम्पमा समस्या, ब्रेक आयल कम भएको जस्ता कमजोरी भेटिएको ट्राफिक प्रहरी चितवनले जानकारी दिएको छ ।
समस्या रहेका सवारी साधनहरुलाई सम्झाई बुझाई नियमित सवारी परीक्षण गरी संचालन गर्न सेचत गराई नियमानुसार कारवाही समेत गरिएको प्रहरीले जनाएको छ ।
सवै तस्विर ः जिल्ला ट्राफिक प्रहरी कार्यालय