समीर चापागाईं
पटिहानी, चितवन ।
कुनै समय विश्वका धनाढ्य पर्यटक तानेर चर्चित वनेको नाउँ हो पश्चिम चितवन । विभिन्न कारण उक्त ख्यातीमा कमी आएपनि पश्चिम चितवनकै पटिहानी पर्यटहरुका लागि अर्को उस्तै शुन्दर गन्तव्य हो ।
आन्तरिक तथा बाह्य पर्यटकको वाक्लो चहलपहल हुने क्षेत्र,देशकै सयौं गन्तव्य मध्यको एक हो– पश्चिम् चितवनको सुन्दर नगरी पटिहानी, जहाँ बिशेषगरी छाता हेर्न पर्यटकहरु आउने गर्दछन् ।
छाता हेरी रमाइलो मानेर फर्किने पर्यटकले पटिहानीलाइ राष्ट्रिय अन्तर्रास्ट्रिय रुपमा चिनाएका छन् । अम्ब्रेलालाई पृष्ठभुमिमा राखेर विभिन्न पोजमा आफ्ना तस्बिरहरु कैद गर्दै सामाजिक संजालमा पोष्ट्याउँदा औधी खुशी हुन्छन् पर्यटकहरु ।
कम खर्चमा धेरै आनन्द लिने गरेका पर्यटकलाइ पटिहानीले न्यानो आतिथ्यता प्रदान गर्ने गरेको छ । सस्तो सुलभ दरमा बस्न पाइने आकर्षक होटलहरु त छन् नै साथमा कुशल व्यबस्थापन । यो सुविधासँगै पटिहानी आउने पर्यटकलाई अर्को उपहार हो बन्यजन्तुसँगको प्रत्यक्ष साक्षात्कार ।
हो यस्तै यस्तै कुराले लोभ्याउने गर्छ पर्यटकलाइ पटिहानिले । तर पटिहानी घुम्न आउने पर्यटक भने अम्ब्रेला स्ट्रीटमा २,४ वटा तस्बिर खिचेर फर्किने गरेका छन् । यहाँ रहेको अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार र उचित सुविधा नहुँदा आएका पर्यटक यतिमै खुम्चिएका छन् ।
उचित प्रचारप्रसारको कमिकै कारण पटिहानीमा हेर्न, रमाउन, स्वर्गीय आनन्द लिन सकिने अन्य धेरै स्थान तथा पक्षहरु छन् भन्ने थाहा नपाइकन पर्यटकहरु फर्कीनु परेको तितो यथार्थ सुनाउँछन् पटिहानी पर्यटन बिकास समितिका अध्यक्ष शंकर महत्तो ।
पर्यटनको बिकास र संरक्षण संगसंगै प्रचारप्रसार भएमात्रै पटिहानीलाइ चिनाउन सकिने महत्तोको दावी छ । वाइल्डलाइफ पर्यटनको बिकासमा आफुहरुको जोड रहेको र यसमा पत्रकार,बुद्धिजीवीहरुले साथ दिनुपर्ने उनको मत छ ।
अम्ब्रेला स्ट्रिट हेर्न आउने पर्यटकले थारु र बोटेको मौलिक संस्कृति हेरिदिए वा देखाउन सकेमात्रैपनि यी संस्कृतिको पनि जगेर्ना हुने र पर्यटकको समय लम्व्याउन सकीने महत्तोको भनाइ छ ।
ऐतिहासिक क्षितामाइ मन्दिर,क्षत्रि पुल,काठेपुल, राप्तिको तटीय क्षेत्रमा गोहिको अबलोकन, विभिन्न तालतलैयाहरु,बन्यजन्तुका ब्यबहारलाइ नजिकबाट नियाल्न पाइने आदि क्षेत्रको पर्यटक आएर अबलोकन गरेमा पटिहानी क्षेत्रको समग्र बिकास हुनेमा कुनै शंका नरहेको महत्तोको प्रष्टोक्ति छ ।
मध्यवर्ती क्षेत्र पटिहानीको अर्को आकर्षण
पटिहानीको अर्को आकर्षण केन्द्रविन्दु हो–मध्यवर्ती क्षेत्र । जहाँ बेलशहर र बिरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनले गहना थपेको छ । यो क्षेत्रमा उफ्रिने मृग, रमाएका हात्ती ,गैँडाले पर्यटकलाइ लोभ्याउन सक्छ्न ।
२०४ हेक्टरमा फैलिएको बेलशहर मध्यवर्तीमा राखिएको भिउ टावर बाट विभिन्न बन्यजन्तु को अबलोकन गर्न सकिने सोही बेलशहर मध्यवर्तीका सचिब गिरिधारी पौडेलले बताए ।
यो क्षेत्र बाघ देख्न सकिने सवैभन्दा बढी सम्भावना भएको ठाउँ हो । जनावरको चरन क्षेत्र बनेको बेलशहरलाइ निकुन्जको पहलमा धेरै बर्ष अघि सामुदायिक बनमा रुपान्तरण गरिएको पौडेलले जानकारी दिए ।
चितवनको प्रमुख दुई पर्यटकीय गन्तव्य सौराहा र पटिहानीलाई समान्तर बिकास गर्न करिब ९ किलोमिटर सडकको लागि पहल गर्न आबश्यक रहेको उनको भनाइ छ । त्यसपछि सौराहा आएका पर्यटक पटिहानीमा र पटिहानी आएका पर्यटक सौराहामा लैजान सकिने र एउटा महत्वपूर्ण करीडोर जस्तै वन्ने पौडेलको बिश्वास छ । यसले दुबै क्षेत्रको पर्यटकीय बिकासमा टेवा पुग्नेमा जोड दिंदै अव यसतर्फ कलम र बहस चलाउन आवश्यक भएको बताए ।
यस्तै बिरेन्द्रनगर सामुदायिक बनमा राखिएको भिउ टावरबाट पनि बन्यजन्तुलाई अबलोकन गर्न सकिने एक प्रतिनिधिले बताए । उनका अनुसार एकसिङ्गे गैँडा र पाटेबाघको बासस्थान सोही ठाउँमा रहेको छ ।
पटिहानीलाइ अहिले प्रचार प्रसारको आबश्यकता
पटिहानी पर्यटन क्षेत्र प्रचारप्रसारको अभावले पछी परेको सरोकारवालाहरु बताउँछन् । पश्चिम चितवन पत्रकार मंचका अध्यक्ष पटिहानीबासी अपिल घिमिरेले पटिहानी अहिले प्रचार प्रसार कम भएर पछि परेको र आगामी दिनमा मंञ्चले यस ठाउँ र समग्र पश्चिम् चितवन क्षेत्रलाइ देशबिदेशमा चिनाउन लागि पर्ने बताए ।
पत्रकारको कलम,स्थानीय सरोकारवालाको सक्रियतावी ब्यालेन्स भएमा पटिहानीमा पर्यटक ओइरिने घिमिरेले दाबी गरे । आफू पटिहानीबासी पत्रकार भएकै कारण पटिहानीप्रती उत्तरदायी रहेको र पत्रकार मञ्च गठन गर्नुको मूल उद्देश्य पनि यही रहेको उनको भनाई छ ।
पश्चिम चितवन पत्रकार मंचको पहिलो बैठक पटिहानीमा
पत्रकार घिमिरेको अध्यक्षतामा पश्चिम् चितवन पत्रकार मञ्चको पहिलो पूर्ण बैठक शनिवार पटिहानीमा बसेको छ । पत्रकार र स्थानिय सरोकारवालाबीच नङ र मासुको जस्तै सुमधुर सम्बन्ध कायम हुने बिश्वास गरिएको छ ।
अरु संस्थाको पनि यस्ता बैठक,गोष्ठी ,अन्तरक्रिया,ठूला सेमिनार,सम्मेलन जस्ता कार्यक्रमहरु पटिहानीमा भयो भने साच्चै पटिहानी नम्बर वान पर्यटकीय गन्तव्य बन्नेमा दुइमत छैन् ।
सवै मिलौँ र भएका क्षेत्रहरुको प्रचारप्रसार सँगै सत्कार सम्मानमा जुटौँ । सम्भावनाहरुको खोजी गर्दै बहस र छलफल गरी परिणाममा पुगौँ ।