डोलराज रानाभाट
कावासोती । पुष ८ गतेदेखि सुरु भएको प्रथम बृहत नवलपुर खाना,पर्यटन,सांस्कृतिक तथा व्यापारिक महोत्सव २०७८ जारी ।आजसम्म जारी रहने महोत्सवले कोभिडका कारण थला परेको व्यवसायलाई गति दिन सहयोगी बनेको छ । त्यतिमात्रै होइन यहाँको जातजाती,भाषा, संस्कृति,परम्परा, स्थानीय खानाका परिकार तथा पर्यटकीय स्थान र सम्भावनाहरुको खोजी गर्न यसले मद्दत गरेको छ ।
महोत्सवको मुल स्टेज नजिकै लहरै छन् थारु,मगर,गुरुङ समुदायको परम्परा झल्काउने घर तथा परिकार । सुरुमै भेटिन्छ नवलपुर थारु रिर्सोट । मध्यविन्दु २ मा रिर्सोट संचालन गर्दै आएका कुलवहादुर थनेतले महोत्सवमा आफ्नै जातीको परम्परासँगै खानाका परिकार चिनाउने र विक्रि गर्ने गरिरहेका छन् । थनेत भन्छन्,“थारु जातीको परम्परासँगै स्थानीय उत्पादनका परिकार बनाएर चखाइरहेको छु । ”
थनेतले २०७४ सालमा रिर्सोट स्थापना गरेका थिए । उनले रिर्सोटमा पनि यिनै परिकार बनाएर खुवाउने गरेको बताए । महोत्सवमा पनि उनले चिचर, माछा, हाँस, घोँगी ,लोकल कुखुराको परिकार बनाउन भ्याई नभ्याई छ । पुर्खाको परिकारलाई व्यवसायिकतामा वदल्न सफल थनेतले गंगटा,भत्कुन पनि बनाएर चखाइरहेका छन् ।
कोरोनाले २ वर्ष ठप्प जस्तै भएको बताउने उनले त्यो समय करिव २० देखि २५ लाखको व्यापार गुमाएका छन् । अव यो महोत्सव सँगै रिर्सोटमा ग्राहक बढ्ने आशा उनमा छ । अहिले दैनिक १०० देखि २०० जनाले उनको खरले बारेर बनाएको स्टल भेट गरी ती परिकार चाखिरहेका छन् । उनले आफ्नो परम्परागत खानाका परिकार र घर समेत बनाएकाले आयोजकले पनि छुट दिएको उनी बताउँछन् ।
चिचर माछा घोगि रु.२००,हाँसको मासु चिचर रु.२५०, लोकल कुखुरा चिचर रु.२५० घाँगी सहित रु.१०० र चिचर र नुमैचा रु. १५० मा दिइरहेका छन् ।
रिर्सोटमा उनले ६ जनालाई रोगजारी दिएका छन् भने महोत्सवको समय पनि ६ जनाले काम पाएका छन् ।
उनको स्टलबाट थोरै अगाडि बढेपछि आउँछ झोर्ले मगर समाज कावासोती ३ अठ्ठाईस विघाको स्टल । जहाँ मगर खाजा घर संचालनमा छ । यो समाजमा ७५ घरपरिवार आवद्ध छन् । समाजका अध्यक्ष टुक्रवहादुर थापा श्रीरीसले दुख पर्दा सहयोगी बन्ने र एकताका लागि समाज गठन गरेको बताए ।
साथमा मगर जातीहरुको परम्परा,भाषा,संस्कृतिको संरक्षणमा पनि समाज जुटेको उनको भनाई छ । २०७६ मा दर्ता भएको समाजले महोत्सवमा मगर जातीको संस्कृति परम्परा झल्कने चिटिक्कको घुमाउने घर बनाएका छन् । त्यसैको आडमा मगर जातीको परिकार चाख्न पाइन्छ । आफ्नो जातीमा लोप हुँदै गएको परम्परा र संकृति देखाउदै नयाँ पीढिलाई जानकारी दिन महोत्सवमा आएको उनले बताए।
एक हप्ता लगाएर बनाएको घुमाउने घर हेर्न दर्शकहरुको भीड लाग्ने गरेको छ । बाँस, खर, डाँडाभाटा, चोया, माटो, कलर घरमा प्रयोग भएको छ भने त्यहाँ ढिकि झाँतो , चकटी ,फुर्लुङ,चकटी ,ढ्याम्स,विरि ,मादल, डम्फु,खैजेडी, रक्सी पार्ने भाडा,छिम, लुडी आदि छन् । जसले वास्तविकता के थियो त भन्ने देखाउन मद्दत मिल्ने उनको भनाई छ।
बढीमात्रामा विद्यार्थीहरु हेर्न आउने गरेका छन् । शहरीकरणले मगरको संस्कार र संस्कृति साँघुरिदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । नजिकै चार घर मिलेर मगर जातिका परिकार पाकीरहेको छ । बारा, सेल, पात्या अचार, भट्ट, वास्या,हान, रक्सी छोप बनाइरहेको छन् । सवैभन्दा धेरै बुटुक र सेलरोटी विक्रि भइरहेको छ । चामलको पिठोमा घ्यु हालेर सेलरोटी र मासलाइ पिनेर पिठो बाट बटुक बनाइएको छ ।
स्थानीय उत्पादनको प्रयोग गरेर यसैलाई व्यवसायिक वनाउन उनीहरु कम्मर कसेका छन्। चाडपर्वमा मात्रै पाइने परिकार मेला महोत्सवमा पनि पाउन थालेपछि यसको बजार बढ्ने आशा उनीहरुमा छ । अहिले रु.१०० को ६ वटा बटुक,गुन्द्रुक अचार र सेलरोटी ४ वटा,गुन्द्रुक अचारलाई रु. १०० , बंगुरको मासु २५० प्लेट, कुखुराको २५० प्लेट विक्रि भइरहेको छ ।
विदेश गइरहेका दिदी वहिनीले यही सीप प्रयोग गरेर पनि राम्रो आम्दानी गर्न सक्ने बताउँछिन् रिमाया थापा। उनलाई शान्ति थापा,मन्जु थापा,टुलमाया थापा ले साथ दिइरहेका छन् ।
त्यस्तै अलिपर भेटिन्छ गुरुङ समुदायको संस्कृति । कावासोती ३ की गौमाया गुरुङका अनुसार कावासोती ५ पाँचकठ्ठाले आफ्नो जातीय परम्परा र संस्कृति झल्कनेगरी पुराना सामानहरु राखिएको छ । चिटीक्कको घरमा डोको, जुवा,दाँते, नारा, हलो,जाँतो,मदानी, स्याकु,बख्खु,पाथी,मौरीको घार आदि देखिन्छ ।
महोत्सवका संयोजक एवम नवलपुर होटल व्यवसायि संघका जिल्ला अध्यक्ष सन्तोष रानामगरले महोत्सवमा होटलका २७ वटा र अन्य व्यवसायिक १०७ वटा स्टल रहेका छन् ।
करिव १ करोडको कारोवार गर्ने लक्ष्य रहेको महोत्सव करिव १ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।