डोलराज रानाभाट
नवलपुर (कावासोती) । नवलपुर जिल्लामा अहिले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियान जारी छ । जिल्लामा रहेका आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा यो अभियान सकिएको छ तर गैँडाकोट, देवचुली र मध्यविन्दुमा भने अभियान जारी छ । यो अभियान पुष १९ गते सम्म जारी रहन्छ ।
बुलिङ्टार,बौदिकाली,हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा भने मंसिर १७ देखि पुष २ सम्म १५ दिन संचालन भएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले जानकारी दिए ।
अभियान सकिएका गाउँपालिकाका नागरिक जसको दर्ता छैन उनीहरुभने जिल्ला प्रशासन कार्यालय नवलपुरमा रहेको केन्द्रमा आएर मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भीड बढेको छ । यही भीडमा देखिए ८५ वर्षीय रण सिँह गाहा मगर ।
हुप्सेकोट गाउँपालिका चारघरेका (नागरिकता अनुसार तत्कालिन देउराली ७ हाल हुप्सेकोट ९) उनलाई आफ्नो माइलो नाती मित्रवहादुर गाहाले नाम दर्ता गराउन ल्याएका थिए । सधैँ खाली खुट्टा हिँड्ने उनी शीरमा ढाका टोपी कहिल्यै छुटाउँदैनन् । वर्ष ८५ पुगेपनि उनको नियमित दैनिकी भने सामान्य मानिसहरुको भन्दा कम छैन। फोटो खिचाउदै गरेका हजुरवालाई देखाउँदै नातीले भने,“पञ्चायतकालका हुलाकी हुनुहुन्छ । तर कसरी छुट्नुभयो कसरी ? अहिले नाम दर्ता गराउन ल्याएको हो ।”
बुढ्यौली लागेर आँखा भित्र पसेका छन् । हात दरा छन् । वाक्लो छाला पनि । घाँस,दाउरा गाई गोठ सिँहार्न अझैपनि उत्तीकै सक्रिय उनको फोटो सहितको मतदाता नामावलीमा दर्ता गराउँदा डिजिटलले लिन समेत कठिन मानिरहेको थियो । गिरुवारीमा एक पटक भोट हालेको अनुभव मात्रै छ उनीसँग । तर फोटो सहितको मतदाता नामावली हुनुपर्ने नियमपछि भने उनी बञ्चित हुँदै आएका रहेछन् ।
यो उमेरमा पनि आफूले निर्वाचित गराई योग्य उम्मेदवार छान्ने हुटहुटीमा उनमा अझै छ । खुशी हुँदै भने,“फोटो सहितको नामावलीपूर्वको निर्वाचनमा भोट त हालेँ तर त्यसपछिका निर्वाचनमा भने बञ्चित भइरहेँ । अव दर्ता गरेँ खुसी छु । भोट हाल्न पाउने भएँ ।”गाउँपालिकामा केन्द्र गराएर दर्ता अभियान हुँदा उनले भने सकिने दिन मात्रै थाहापाएपछि दर्ताका लागि जिल्लामै आएका थिए ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरले प्रशासन कार्यालय परिसरबाटै नियमित रुपमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने सेवा दिइरहेको छ । १० बजेदेखि नै प्रशासन भीड सुरु हुन्छ । त्यो सँगै उक्त केन्द्रमा पनि । नियमित सेवा लिन आउने भन्दा अहिले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेहरुको भिड अझ बढेको बताउँछिन् दर्ता कर्मचारी रन्जु पाण्डे ।
पाण्डेका अनुसार प्रशासनमा आएर भर्खरै नागरिकता बनाउने देखि नागरकता बनाएर पनि फोटो सहितको मतदाता नामावलीमा दर्ता नगराएकाहरुले दर्ता गराइरहेका छन् ।
१६ वर्षदेखिका नागरिकहरुको नामावली प्रविष्ट गरिने तर १८ वर्ष उमेर पुगेका नागरिकले मात्रै मत हाल्न पाउने उनले बताइन् । अहिले प्रशासनमा रहेको केन्द्रबाट १६ देखि ९९ वर्षसम्मका नागरिकको नाम दर्ता गराएको अनुभव रन्जुसँग छ । उनको अनुभवमा मतदाता शिक्षाको कमी नागरिकमा रहेको छ ।
अभियान चल्दा मात्रै हुलका हुल आउने अन्य समयपनि आयोगले दर्ताको काम जिल्लामा गरिरहदा प्राय सुनसान जस्तै हुने उनी बताउँछिन् । उनी भन्छिन्,“चेतना भएको भए वर्षभरीनै दर्ता गराउन मिल्छ तर अन्तिम अवस्थामा मात्रै भीड किन हुन्थ्यो र ? भोलि सकिदै छ भनेपछि गाडीका गाडी मानिसहरु ल्याउनुहुन्छ । चारतर्फीबाट गाडीका गाडी ल्याउँछन् । एउटा पालिकाबाट त पाँच वटा गाडीमा समेत नागरिकहरुलाई ल्याउनुभएको थियो ।”
पण्डेले अघिपछि पनि नेतृत्व गर्नेहरुले नागरिकलाई सचेत गराउनुपर्ने बताइन् । अन्तिम समय त्यसरी ल्याउँदा नागरिक लामो समय लाइनमा बस्नुपर्ने,कर्मचारीलाइ समेत कठिन हुने गरेको उनको भोगाई छ । विशेषगरी वडाअध्यक्षहरुले बुझ्नुपर्ने उनको भनाई छ ।
दर्ताकै क्रममा कतिपय यसअघि मतदाताको कार्ड भइसकेकालाई समेत जिल्ला पठाइदिने गरेको पाइएको पाण्डेले बताइन् । जसका कारण नागरिकले त दुख पाए पाए, दर्ता गराउनेको भीडले सेवामा समेत ढिलो हुने गरेको छ ।
अहिले प्रशासनबाट दैनिक ५० देखि १०० जना सम्मको दर्ता भइरहेको छ । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकले सक्कली नागरिकता,नागरिकताको फोटोकपी,विवाह गरेर आएको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइसराई गरेर आएको हकमा बसाइसराइको प्रमाणपत्र आवश्यक पर्दछ । ती कागजात सहित आएका नागरिकको सफ्टवेयरमा आधा फोटो, चारवटा औँलाको फिङ्गर स्क्यान गरी दर्ता गर्ने गरिएको छ ।