चितवन । भरतपुरमा रहेको अर्कीड स्कूलका विद्यार्थीहरुले जहाज बनाएर सफल उडान समेत गरेका छन् । उनीहरुले हिजो भरतपुरको यज्ञपुरीमा रहेको खाली मैदानबाट जहाज उडाएका हुन् ।
सधैँ विज्ञानको विषयमा लेखिने र आकाशमा देखिन जहाज आफै बनाएर उडाउन पाउँदा विद्यार्थीहरु दंग थिए । कक्षा १० का विद्यार्थीहरुले आफ्नो प्राक्टीकल अभ्यास र भरतपुरमै कार्यालय रहेको हिमालयन हाइ फ्लायर्सको सहयोगमा उनीहरुले जहाज बनाएर उडाएका थिए । उक्त अवसरमा चार वटा जहाज र एउटा ड्रोनको सफल परीक्षणपछि उडान गरिएको हो । जहाज र ड्रोनलाई रिमोट कन्ट्रोल मार्फत उडाइएको थियो । जसलाई आरसी प्लेन नाम दिइएको छ ।
प्रविधिमैत्री विश्व भएपनि नेपालको पढाई सैद्धान्तिक ज्ञानमा सीमित हुँदा विकसीत प्रविधिको प्रयोग गरी निर्माण र संचालनमा देश धेरै पछाडि रहेको भन्दै संस्थानै स्थापना गरेको संस्थापकमध्येका एक निसान्त न्यौपानेले बताए । भरतपुर ७ का उनले कक्षा १२ सकाएका छन् ।
वाल्मिकी अध्ययन गरेका उनी सहित चार जना हिमालयनको संस्थापक छन् । उनी आफै,यासीमा अधिकारी, किरण सिलवाल,असीम पौडेल,आदित्यराज ढकाल,जसले नयाँ खोज अनुसन्धान र अन्वेषणको ज्ञान विद्यार्थीहरुलाई बाँडिरहेका छन् । साथमा व्यवसायीक पाइलटले पनि कार्यक्रममा साथ दिएका छन् । ड्रोनका लागि भने झापा देखि अनिल प्रधान आएका थिए । उनले उडान र निर्माण गर्न सिकाएका थिए । हिमाली भेगमा औषधी लगायतका सामाग्री पठाउन मिल्ने ड्रोन बनाएर उडाएका थिए ।
अव यसलाई अभियानै रुपमा लैजाने र विद्यालयसँग सहकार्य गरेर जहाज निर्माण र उडान तथा ड्रोनको निर्माण र संचालनवारे ज्ञान दिँदै जाने उनले बताए । भरतपुरमा पहिलो पटक अर्कीड विद्यालयसँग सहकार्य गरेर कार्यक्रम गरेको र सफल भएको उनको भनाई छ ।
अर्कीडका विद्यार्थीहरुलाई १० दिनको समय दिई आफूहरुपनि सँगै बसेर जहाज निर्माण गरेको उनको भनाई छ । जतिसुकै ठूलो जहाज भएपनि उड्न सहयोग पुर्याउने पछाडीको भागवारे बढी जानकारी दिइएको थियो । उनका अनुसार फिजिक्स,टेल र इलेक्ट्रोनिक्सवारे पूर्ण जानकारी दिएको बताए । उनले भने,“व्रसलेस मोडल,सर्भे मोटरहरु,इवो व्याट्री,ल्याण्डीङ गियर लगायत जहाज कसरी उड्छ र ल्याण्ड गर्छ भन्नेबारे व्यवहारिक ज्ञान दिन सफल भएका छौँ । ”
ड्रोनहरु भएपनि आरसी प्लेन उडाउने अभ्यास कमै भएको नेपालमा आफूहरुले यसको प्रविधि, निर्माण र उडानबारे थप ज्ञान दिँइदै हिँड्ने उनको भनाई छ। आफूलाई सानैदेखि यसप्रति आकर्षण रहेपनि ज्ञान दिने विशेषज्ञहरुको अभावले सोचे जस्तो गर्न नसकेपछि रोवोर्टीक्सवारे आफूहरुले अभियाननै चलाएको बताए ।
हिमालयन हाइ फ्लायर स्टीम प्रोगाम नाम दिएर तालिम चलाइएको थियो । विद्यार्थीहरुले स्थानीय ठाउँमै प्राप्त हुने सामाग्रीको संकलनबाट जहाज बनाएर उडाएका थिए ।
अर्कीड स्कुलका विज्ञान शिक्षक निरज महतोले सैद्धान्ति शिक्षासँगै विद्यार्थीले व्यवहारिक ज्ञान पाएको बताए । यसले विद्यार्थीहरुमा अन्वेषण खोज गर्न थप उत्सुकता जगाएको बताए । अर्कीडकै अर्का विज्ञान शिक्षक विक्रम लम्सालले मोटर, कनेक्टीग वायर र फर्महरु, पेन्सीलको प्रयोग गरेर जहाज बनाइएको बताए ।
विद्यार्थी अभय भन्तना पनि तालिम लिएर जहाज उडाउन पाउँदा खुसी लागेको बताए । सुरुमा सफल हुँदैन की भन्ने लागेपनि अहिले भने अन्य साथीहरुलाई पनि सिकाउने सक्ने गरी अभ्यस्त भएको बताए । छात्रा प्रज्ञा काफ्लेले जहाज बनाउँदै उडाउँदासम्म जहाजवारे धेरै ज्ञान व्यवहारिक पक्षबाटै पाएको बताइन् ।
अर्कीडका सहप्राचार्य उमराज मैनालीले १४ घण्टाको अनवरत अभ्यासपछि विद्यार्थीले जहाज उडान सफल भएको बताए । अन्य विद्यालयले पनि विद्यार्थीहरुलाई नयाँ प्रविधि,अन्वेषण खोजवारे ज्ञान दिन आवश्यक भएको बताए । जिज्ञासु स्वभावका विद्यार्थीलाई व्यवहारिक ज्ञानदिन सके धेरै प्रविधिको विकास हुने विश्वास व्यक्त गरे ।
पछिल्लो समय मोवाइलमा व्यस्त हुने विद्यार्थीहरुलाई यी कार्यक्रमले मोवाइलमा पनि अन्वेषणमूलक भिडियो हेर्न प्रेरित गर्ने र सकारात्मक परिवर्तन ल्याउने बताए । कक्षा १० का १०७ जना विद्यार्थीलाई ओरिन्टेशन दिएर मात्रै वाँकी विद्यार्थी छनौट भएका थिए ।
कार्यक्रमका लागि अर्कीड विद्यालय छनौट गरेको भन्दै विद्यालयले संस्थालाई धन्यवाद सहित विदाई गरेको थियो ।